गौतमबुद्ध विमानस्थलबाट जजिराले पुनः उडान सुरु गर्ने



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले पुनः उडान सुरु गर्ने भएको छ । कम्पनीले फागुन २५ देखि भैरहवाबाट पुनः उडान सुरु गर्ने जनाएको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उडान तालिकाअनुसार फागुन २५ देखि सातामा तीन उडान हुनेछन् । भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समयअनुसार बिहान ८:०५ मा उडान हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, कुवेतबाट भैरहवाका लागि पनि सातामा ३ उडान हुनेछन् । सोमबार, बुधबार र शुक्रबार नेपाली समयअनुसार ११:५० मा उडान भर्ने कम्पनीले जनाएको छ ।

भैरहवाबाट सातामा तीनपटक हुने उडान कुवेतको स्थानीय समय १०:५५ मा त्यहाँ अवतरण हुनेछ भने कुवेतबाट नेपालमा हुने उडान कुवेतको स्थानीय समयअनुसार साँझको ७:२० मा अवतरण हुनेछ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपश्चात जेठ २ गतेबाट उडान सुरु गरेको जजिरा एयरले पुसबाट भने मौसमको कारण देखाउँदै उडान स्थगित गरेको थियो । मौसमका कारण स्थागन भएको उडान पुनः सुरु गर्न लागिएको हो ।


क्लिकमान्डु