अबको तीन वर्षमा नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छः कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । काठमाडौंमा आज आयोजित ‘नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी’ विषयक कार्यक्रममा उनले जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खायाममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए ।

जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत बढी हुने जानकारी गराए । सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको उनको भनाइ छ ।

‘अहिले २५ सय ४४ मेगावाट उत्पादन भइरहेको छ,’ उनले भने, ‘प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको छ ।’ निर्देशक घिसिङले सन् २०४२-४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको बताए ।

उद्योगहरुमा जलविद्युतको माग राम्रो रहेको उनको भनाइ छ । उनले ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका भन्दै करिब ७ हजार मेगावाटको पीपीए भइसकेको बताए ।

त्यस्तै निर्देशक घिसिङले जलविद्युत उत्पादनका लागि चालू वर्ष १.२ मिलियन डलर लगानी प्रतिवद्धता भइसकेको जानकारी गराए । ‘एक्जिम बैंकले ७ सय मिलियन, जाइकाले १४० मिलियन तथा विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रविद्धता जनाएका छन्,’ उनले भने, ‘तथापि जलविद्युत उत्पादनका लागि नयाँ-नयाँ प्रोजेक्ट बनाउन अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुन्छ ।’


क्लिकमान्डु