पर्वतको मोदीदेखि पोखराको लेखनाथसम्म १३२ केभीको प्रसारण लाइन बन्दै



C

काठमाडौं । विद्युत प्राधिकरणले पर्वतको मोदी गाउँपालिकादेखि लेखनाथसम्म १३२ केभीको प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

गण्डकी प्रदेशको पर्वत जिल्लाको मोदी गाउँपालिका, कास्कीको अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका र पोखरा महानगरपालिकामा यो प्रसारण लाइन निर्माण हुनेछ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको यो प्रसारण लाइन निर्माणका लागि पूरक वातावरणिय प्रभाव मूल्याकंन प्रतिवेदनमा राय सुझावका लागि सूचना निकाल्दै वन मन्त्रालयले यसबारे जानकारी दिएको छ ।

प्रसारण लाइन सुरुवात पर्वतको मोदी गाउँपालिका–२ बाट हुनेछ । मोदी गाउँपालिकाको कोरुङ्गा गाउँबाट सुरु भएको प्रसारण लाइन पोखरा महानगरपालिका–२७ स्थित खरानेसम्म रहने प्रस्ताव गरिएको छ ।

आयोजनाले मुख्य हाइवे क्रसिङ ५ स्थानमा र ३० स्थानमा नदी क्रसिङ गर्नेछ । सँगै ३३ केभीको प्रसारण लाइन ४ स्थानमा, ११ केभीको प्रसारण लाइन १७ स्थानमा र ४ सय भोल्ट लाइन २१ स्थानमा क्रसिङ रहने सूचनामा उल्लेख गरिएको छ ।

प्रसारण लाइनअन्तर्गत १३९ वटा एङ्गल टावर निर्माण गरिनेछ । आयोजनाको पूरक वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएअनुसार आयोजनाका लागि कुल ८०.४ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमध्ये १८.६२ हेक्टर सरकारी स्वामित्वको वन क्षेत्रको जग्गा रहेको छ ।


क्लिकमान्डु