मुरारका ग्रुपको पशुपति आइरन एन्ड स्टिल कम्पनीको व्यापारमा शतप्रतिशत वृद्धि



काठमाडौं । मुरारका ग्रुपको पशुपति आइरन एन्ड स्टिल प्रालिको व्यापारमा शतप्रतिशत वृद्धि भएको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा शतप्रतिशत बढेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब १९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा कम्पनीले ४ अर्ब २० करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।  कम्पनीका अनुसार सन् २०२१ मा ५५ प्रतिशतले वृद्धि भएको व्यापार सन् २०२२ मा ९१ प्रतिशतले बढेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२० मा १ अर्ब ४१ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा २ अर्ब ५२ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् १९८३ देखि आइरन तथा स्टिल उत्पादन उत्पादन गरी बिक्री गर्दै आएको छ । पशुपति आइरन नेपाली बजारमा प्रख्यात ब्रान्ड हो । कम्पनीले पशुपति ब्रान्डमा डण्डी उत्पादन र बिक्री गर्दै आएको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा टीएमटी बारको आपूर्ति गर्दै आएको छ । कम्पनीले विशेषगरी पिग आइरन, स्पन्ज आइरनजस्ता कच्चा पदार्थ भारतबाट आयात गरी डण्डी उत्पादन गर्दै आएको छ ।

कम्पनीले वार्षिक १ लाख १० हजार टन टीएमटी बार उत्पादन गर्दै आएको छ । अशोक मुरारका, प्रदिप मुरारका, पशुपति मुरारका र महेश मुरारकाको बराबर हिस्सा अर्थात् २५‑२५ प्रतिशत सेयर रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब २३ करोड रुपैयाँको रेटिङ गराएको छ । जसका कम्पनीले ‘ए फोर’ रेटिङ पाएको छ ।

सन् २०२२ मा कम्पनीको व्यापार शतप्रतिशत बढे पनि नाफामा भने गिरावट आएको छ । कम्पनीले सन् २०२१ मा ७.२ प्रतिशत नाफा कमाएको सन् २०२२ मा ४.७ प्रतिशतमात्रै नाफा कमाएको छ ।


क्लिकमान्डु