इन्टरनेट अवरुद्ध भए अब ग्राहकले क्षतिपूर्ति पाउने



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९ जारी गर्दै मोबाइल नेटवर्क वा इन्टरनेट सेवा अवरुद्ध भएमा ग्राहकले क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ ।

प्राधिकरणले विनियमावली जारी गर्दै कुनै पनि बेला इन्टरनेट वा मोबाइल नेटवर्क अवरुद्ध भएमा सेवाप्रदायकले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको हो ।

प्राधिकरणले मोबाइल डाटा वा फिक्स्ड ब्रोडब्यान्ड तोकिएको समयमा नचलेमा सो समयको क्षतिपूर्ति ग्राहकलाई सेवाप्रदायकले दिनुपर्ने व्यवस्था गरिएको हो ।

प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवाको गुणस्तरसम्ब्न्धी विनियमावली, २०७९ आगामी वैशाख १ गतेदेखि लागू हुनेछ । उक्त बिनियमावलीकाअनुसार क्षतिपूर्तिका लागि ग्राहक आफैंले मागदाबी गर्नुपर्नेछ ।

विनियमावलीमा भनिएको छ, ‘तोकिएको भन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधा बापत सेवा प्रदायकबाट क्षतिपूर्ति मागदावी गरेमा सम्बन्धित सेवा प्रदायकले ग्राहकलाई दुरुसञ्चार सेवाशुल्क वापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ ।’

विनियमावलीकाअनुसार मोबाइल डेटा, भ्वाइस प्याक, इन्टरनेट प्याकलगायत ग्राहकले खरिद गरेको तर, प्रयोग गर्ने अवधीमा सम्बन्धित सेवा प्रदायकको सर्भिस डाउन भएर ग्राहकले सेवा लिन नपाएमा क्षतिपूर्ति दाबी गर्न पाउनेछन् ।

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा पनि तोकिएको समयभन्दा धेरै समयसम्म नेटवर्क नचलेमा सेवा प्रदायकले ग्राहकलाई क्षतिपुर्ति दिनुपर्ने व्यवस्था गरिएको छ ।

उक्त क्षतिपूर्ति ग्राहकको सेवाको अवधी निशूल्क थप गर्ने वा महसुलमा दामासाहीले मिनाहा गर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको सम्बन्धमा शहरी क्षेत्रमा न्युनतम चार घण्टादेखि ४८ घण्टा र ग्रामिण क्षेत्रमा २४ घण्टादेखि ७२ घण्टाभन्दा धेरै समयसम्म इन्टरनेट नचलेको अवस्थामा क्षतिपूर्तिको मागदाबी गर्न सकिने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु