संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ: डा. महत



नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुले विगतदेखि नै राष्ट्रपति कांग्रेसका तर्फबाट हुनुपर्ने धारणा राख्दै आएको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अघिल्लो गठबन्धनमा सहभागी रहेको र लामो समयदेखि आफूहरुसँग सहकार्यमा रहेका आधारमा एकीकृत समाजवादी र अध्यक्ष नेपाल राष्ट्रपतिका लागि योग्य हुनुहुन्छ ।’

उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सकारात्मक छलफल भएको र साँझ पुनः बैठक बस्ने जानकारी दिए । राष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।


क्लिकमान्डु