वैदेशिक रोजगार विभागभित्र प्रवेश गर्न परिचयपत्र अनिवार्य



काठमाडौं । वैदेशिक रोजगार विभागभित्र प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको छ । विभागले बिहीबार सूचना जारी गर्दै विभागभित्र प्रवेश गर्न परिचयपत्र अनिवार्य गरेको हो ।

विभागका सूचना अधिकारी कृष्णप्रसाद भूसालले विगत केही दिनदेखि विभागको नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नामबाट कानून, विधि र प्रकृया विपरित कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतंक मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्यहरु बढ्दै गएकाले प्रवेश कडाइ गरेको बताए ।

त्यस्तै, विभागले अमर्यादित कार्य एवं क्रियाकलापलाई अन्त्य गरी विधि र प्रकृया बमोजिम काम गर्ने वातावरण निर्माण गर्न सहयोग पुर्याउन सम्बन्धित सबै सरोकारवालाहरुसँग आग्रह गरेको छ ।

विभागले कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई असम्बन्धित व्यक्तिको प्रवेश लाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाइ गरिएको हुँदा विभागमा काम लिएर आउने सेवाग्राहीहरुले आफ्नो परिचयपत्र खुल्ने कागजात लिई विभाग प्रवेश गर्न अनुरोध गरेको छ ।


क्लिकमान्डु