सुधीरको कोहिनुर हाउजिङ सञ्चय कोषले लिलाम गर्न लागेको भन्दै उपभोक्ता समितिको आपत्ति



काठमाडौं । कर्मचारी सञ्चय कोषले लिलाम गर्नेभन्दै सूचना निकालेको २१ दिनपछि भेगास सिटी उपभोक्ता व्यवस्थापन समितिले आपत्ति जनाएको छ ।

भेगास सिटी उपभोक्ता व्यवस्थापन समितिले बिहीबार सूचना जारी गर्दै सञ्चयकोषले ललितपुरको बालकुमारीमा रहेको भेगास सिटी अपार्टमेन्ट लिलाम बिक्रीको लागि बोलपत्र आह्वान गरेको सूचनाप्रति आपत्ति जनाएको हो ।

कर्मचारी सञ्चय कोषले गत माघ २० गते सूचना प्रकाशित गर्दै कोषबाट ऋण लिएको कोहिनुर हिल हाउजिङ प्रालिको ललितपुरमा रहेको दृष्टिबन्धक जमिन र त्यसमा निर्माणाधीन आवासीय भवनहरु लिलाम बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।

सञ्चय कोषबाट कर्जा लिएर ऋणीले म्यादभित्र कर्जा चुक्ता नगरि ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लंघन गरेको भन्दै कोषले लिलामका लागि बोलपत्र आह्वान गरेको थियो ।

उक्त सूचनामा आपत्ति जनाउँदै भेगास सिटी उपभोक्ता व्यवस्थापन समितिले बिहीबार सूचना प्रकाशित गरेको छ ।

प्रकाशित सूचनामा समितिले कर्मचारी सञ्चयकोषको लगानी पूर्व नै उपभोक्ताहरुले भेगास सिटी अपार्टमेन्टमा बुकिङ तथा किस्ता किस्तामा भुक्तानी गरेर निर्माण भइरहेको र पछिल्लो समय मात्रै सञ्चय कोषको तर्फबाट ऋण प्रवाह भएको उल्लेख गरेको छ ।

समितिले अपार्टमेन्ट निर्माण गरेको कम्पनी कोहिनूर हिल हाउजिङ्गले कर्मचारी सञ्चय कोषबाट लिएको ऋण अपार्टमेन्ट निर्माणमा भन्दा पनि कम्पनीले पहिले नै लिएका पुरानो बैंकका अन्य ब्याजहरु तिर्नमा खर्च भएको उल्लेख गरेको छ ।

उपभोक्ताहरुले आफूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरेको र आफ्नो फ्ल्याट लिनका लागि तयार अवस्थामा रहेको बेलामा त्यसलाई वेवास्ता गर्दै सञ्चय कोषले सूचना निकालेकोमा आपत्ति जनाएका छन् ।

समितिले कोहिनुर हिल हाउजिङ्ग र भेगास सिटी उपभोक्ता व्यवस्थापन समितिबीच २०७० वैशाख १५ मा नै सम्झौता भएको र आवासलाई ३३३ जनाले बुकिङ गरेको नामावलीसमेत प्रकाशित गरेको स्मरण गराउँदै नामावली विपरित भित्री रुपमा कोहिनुर हिल हाउजिङ्गको नामबाट खरिद बिक्री भएकोमा समेत आपत्ति जनाएको छ । कोहिनुर हिल हाउजिङ घरजग्गा व्यवसायी सुधीर बस्नेतको कम्पनी हो ।


क्लिकमान्डु