नेपालले ७ महिनामा गर्‍यो ९ खर्बको आयात, व्यापारघाटा सवा ८ खर्ब



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा आयात १९.९० प्रतिशतले घटेको छ । सरकारले उच्च आयातका कारण तरलता अभाव भएको भन्दै आयातमा कडाइ गरेको थियो । जसले गर्दा गत वर्षको तुलनामा यो वर्ष आयात घटेको हो ।

आयातसँगै नेपालको निर्यात पनि घटेको छ । नेपालले गत वर्षको ७ महिनाको अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा नेपालले ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ । जुन २९.०३ प्रतिशतले कम हो ।

त्यसैगरी, नेपालले चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत वर्ष नेपालले सोही अवधिमा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो।

साथै, नेपालले ७ महिनाको अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

त्यस्तै, नेपालले ७ महिनाको अवधिमा २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।


क्लिकमान्डु