कोरोना नियन्त्रणका लागि छ्ट्याइएको १५ अर्ब बजेट ६ महिनामा ७ लाख मात्रै खर्च



काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि छुट्टाइएको साढे १५ अर्बमध्ये ६ महिनाको अवधिमा ७ लाख मात्रै खर्च भएको पाइएको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि १५ अर्ब ४७ करोड ८६ लाख रुपैयाँमध्ये ६ महिनाको अवधिमा ७ लाख ३९ हजार रुपैयाँ खर्च भएको हो । सरकारले आर्थिक वर्ष २०७५/७६ देखि चालु आवसम्ममा ७४ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइन्छ ।

त्यसमध्ये हालसम्ममा ३७ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयअनुसार सरकारले आव २०७५/७७ मा ३ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा २ अर्ब १७ करोड ९५ लाख रुपैयाँ खर्च गरेको थियो ।

त्यस्तै, आव २०७६/७७ मा १७ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा कोभिड फण्डको गरी ४२ करोड ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । आव २०७७/७८ मा १६ अर्ब ५८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेकोमा १२ अर्ब ५६ करोड २२ हजार रुपैयाँ खर्च गरेको थियो भने आव २०७८/७९ मा ३८ अर्ब ९६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेकोमा २२ अर्ब २१ करोड ३४ लाख खर्च गरेको थियो । कोरोना महामारी नफैलिएपछि सरकारले बिनियोजन गरेको बजेट पनि खर्च नभएको हो ।


क्लिकमान्डु