ठाकुर निलम्बन प्रकरण: पर्यटनमन्त्रीको अपरिपक्व काम, थाई राजदूतले दिएका थिए अडियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जीएम) प्रेमनाथ ठाकुरले ‘घुस डिल’ गरेको भनिएको अडियो संवाद नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको खुलेको छ ।

माघ २६ गते मन्त्री किराँतीसँग मन्त्रालयमा भेट गर्दा राजदूत भोरासफले अडियो टेप उपलब्ध गराएको स्रोतले जनाएको हो ।

थाइ एयरलाइन्सका इन्जिनियर पुटिवाट सिलापीले रेकर्ड गरेको अडियो राजदूत भोसिताले मन्त्रीलाई दिएका थिए । सोही अडियोका आधारमा मन्त्रीस्तरीय निर्णय गर्दै किराँतीले महाप्रबन्धक ठाकुरालाई निलम्बन गरी छानबिन गर्न निर्देशन दिएका हुन्।

मन्त्रालयले माघ २७ गते जारी गरेको प्रेस विज्ञप्तिमा ‘महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा जाँचबुझ गर्न निजलाई निलम्बन गर्नुपरेको’ उल्लेख छ ।

मन्त्रालयले यो प्रकरणमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ । प्राधिकरणले गठन गरेको छानबिन समिति र अख्तियारले गर्ने छानबिनबाट यो प्रकरणमा के भएको सत्य तथ्य खुल्ने नै छ ।

मन्त्रालयले सिलापी थाई स्माइल एयरलाइन्स प्रतिनिधि भएको उल्लेख गरे पनि उनी खासमा थाई एयरलाइन्स कर्मचारी हुन् । थाइ स्माइल थाई एयरलाइन्सको सहायक कम्पनी हो ।

सिलापी थाई एयरलाइन्सको प्रतिनिधिका रुपमा नेपाल आएका थिए । कोरोना महामारीका क्रममा थाईले नेपालमा सेवा बन्द गर्यो । त्यसपछि सिलापी स्वदेश फर्किएका थिए ।

कोरोना महामारीपछि अन्तर्राष्ट्रिय उडान शुरु भयो । सिलापी पनि नेपाल फर्किए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार सिलापी भिसा सिफारिस पत्र लेखिदिन आग्रह गर्दै मन्त्रालय पुगेका थिए ।

तर, थाई एरलाइन्सले नेपालमा सेवा बन्द गरेकाले सिलापीलाई भिसा सहजीकरणका लागि पत्र नदिइएको उनी बताउँछन् । सिलापी थाई राजदूतलाई समेत लिएर भिसा सिफारिस पत्र लिन मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयले थाई एयरलाइन्सले सेवा शुरु नगरेसम्म सिफासिस नदिने अडान लिएको थियो ।

त्यसको केही समयपछि थाईको भगिनी संस्था थाई स्माइल एयरलाइन्सले नेपालमा उडान शुरु गर्यो । र, थाई स्माइलले नेपालस्थित आफ्नो प्रतिनिधि सोसाइटी इन्टरनेसनल ट्राभललाई पत्र लेख्दै सिलापीलाई भिसामा सहजीकरण गर्न निर्देशन दियो ।

त्यसपछि सिलापीलाई नेपालको भिसा लिन सोसाइटी इन्टरनेसनल ट्राभलले अध्यागमनमा पत्र लेख्दै सहजीकरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरकानुनी रुपमा विभिन्न वायु सेवा कम्पनीलाई इन्जिनियरिङ सेवा दिँदै वार्षिक करिब ६ करोड रुपैयाँको कारोबार गरिरहेका सिलापी नेपालमै बस्न चाहन्थे ।

सिलापी एरोनोटिकल इन्जिनियर हुन् । थाईसँग नेपालमा आफ्नो विमानलाई मर्मत, सम्भार र सञ्चालन (एमआरओ) सेवा दिने लाइसेन्स पनि छ । थाईले विगतदेखि विभिन्न अन्य वायु सेवा कम्पनीलाई एमआरओ सेवा दिइरहेको थियो ।

थाइल्यान्ड सरकारको लगानी रहेको थाई एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो विमानलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने अनुमति छ । तर, कम्पनीले गैरकानुनी रुपमा अन्य कम्पनीलाई इन्जिनियरिङ सेवा दिइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्य वायु सेवा कम्पनीलाई दिइरहेको इन्जिनियरिङ सेवामा रोक लगाएपछि थाई राजदूत रुष्ट बनेका थिए ।

विमानस्थलमा उडान र अवतरण गर्ने विमानलाई एमआरओ सेवा कसले दिने भन्ने विषयमा विवाद भएको थियो । विमानस्थलमा थाई एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ र आफ्ना विमानलाई इन्जिनियरिङ सेवा उपलब्ध गराउने अनुमति दिइएकोमा थाईले गैरकानुनी रुपमा अन्य कम्पनीलाई पनि इन्जिजियरिङ सेवा दिँदै आएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि गैरकानुनी रुपमा दिइएको सेवामा १५ प्रतिशत रोयल्टी लिँदै आएको थियो । कार्यालयले २०१७ नोभेम्बर ६ मा थाई एयलाइन्सलाई पत्र लेख्दै इन्जिनियरिङ सेवाबापतको १५ प्रतिशत रोयल्टी तिर्न ताकेता गरेको थियो ।

विमानस्थल कार्यालयले गैरकानुनी काम रोक्न पत्राचार गरिरहेको छ । २०२२ अगस्ट २३ मा विमानस्थल कार्यालयले थाई एयरलाइन्सलाई पत्र लेख्दै ग्राउन्ड उपकरण हटाउन आग्रह गर्दै पत्र लेखेको थियो ।

त्यसैगरी विमानस्थल कार्यालयले २०२२ मे २ मा थाई स्माइल एयरलाइन्सको नेपाल प्रतिनिधि सोसाइटी इन्टरनेसनल ट्राभल र सिलापीलाई पत्राचार गर्दै नेपालमा अन्य विमान कम्पनीलाई एमआरओ सेवा नदिन सचेत गराएको थियो ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौला गैरकानुनी काम रोक्न थाई एयरलाइन्सलाई पत्राचार गरेपछि पछिल्लो प्रकरण सार्वजनिक भएको बताउँछन् । ‘हामीले थाई एयरलाइन्सलाई गैरकानुनी रुपमा अन्य कम्पनीलाई सेवा नदिन पत्राचार गरेका थियौं,’ सिटौलाले भने, ‘उनीहरुले अटेरी गर्दै आएका थिए ।’

वक्यौताको विषय के हो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार थाई स्माइल एयरलाइन्सले १ करोड ६७ लाख रुपैयाँ चुक्ता गर्न बाँकी छ ।

विमानस्थल कार्यालयका लेखा अधिकृत शशी श्रेष्ठका अनुसार थाई स्माइलले जनवरीको प्यासेन्जर सर्भिज चार्ज, ल्यान्डिङ, पार्किङ नेभिगेसनलगायतको रकम तिरेको छैन । ‘यो वक्यौता रकम होइन, नियमित भुक्तानी हुँदै जाने विषय हो,’ उनले भने ।
यस्तै, उनका अनुसार थाई एयरलाइन्सले पनि विमानस्थल कार्यालयलाई कुनै बक्यौता तिर्न बाँकी छैन ।

त्यसो भए बक्यौताको विषय कसरी उठ्यो ?

प्राधिकरणका एक अधिकारीका अनुसार विगतमा विमानस्थल कार्यालयले थाई एयरलाइन्सको अवैध गतिविधिमा नजरअन्दाज गरेको थियो । तर, केही समययता कडाइ गरेपछि थाईका इन्जिनियरले विमानस्थल कार्यालयका कर्मचारीलाई फसाउन भिडियो बनाउँदै बक्यौताको विषय उठाएका हुन् ।

थाई एयरलाइन्सले इन्जिनियरिङ सेवा दिन विभिन्न उपकरण राख्नुपर्ने भन्दै विमानस्थलभित्रको करिब ५ सय वर्गमिटर क्षेत्र लिजमा लिएको छ । कोरोना महामारीपछि थाईले नेपालमा उडान बन्द गरेपछि विमानस्थल कार्यालयले उक्त क्षेत्र खाली गराउँदै आफ्ना उपकरण फिर्ता लैजान निर्देशन दिएको थियो ।

तर, थाई एयरलाइन्सले नेपालमा २०२२ देखि भगिनी संस्था थाई स्माइल नेपाल आएको बताउँदै उपकरण लैजान आनाकानी गर्दै आएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी थाई एयरलाइन्सले पाएको अनुमतिका आधारमा थाई स्माइललाई सेवा दिन नमिल्ने बताउँछन् । थाईले भने कोरिया एयरलाइन्सलगायतका वायु सेवा कम्पनीलाई सेवा दिँदै मासिक करिब ५० लाख रुपैयाँको कारोबार गर्दै आएको छ ।

थाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा दिएको विवरणअनुसार डिसेम्बरमा ४४ लाख रुपैयाँबराबरको कारोबार गरेको थियो । त्यसमा विमानस्थल सेवासम्बन्धी नियमावलीअनुसार थाईले विमानस्थललाई नोभेम्बरमा ६ लाख ६१ हजार रुपैयाँ रोयल्टी तिरेको छ । यस्तै डिसेम्बरमा पनि ७ लाख ६८ रुपैयाँ तिरेको थियो ।

‘थाईले विमानस्थल कार्यालयबाट कुनै अनुमति नलिई अन्य वायु सेवा कम्पनीलाई इन्जिजियरिङ सेवा दिएर अवैध काम गरेको छ,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्राधिकरणले पनि अवैध कारोबारमा रोयल्टी असुल गरिरहेका छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला थाई एयरलाइन्सले कसरी इन्जिनियरिङ सेवा दिएको छ भन्ने विषयमा आफूलाई केही थाहा नभएको बताउँछन् ।

‘विमानस्थल कार्यालयले कसरी रोयल्टी लियो भन्ने विषयमा मैले बुझ्नु पर्छ,’ निरौला भन्छन्, ‘नियमविपरीत कसैले पनि काम गर्न पाउँदैन ।’

उड्डयन क्षेत्रका विज्ञका अनुसार थाई एयरलाइन्सले काठमाडौंमा वार्षिक ६ लाख डलरको कारोबार गर्दै आएको छ । सोही कारोबार गुम्ने भएपछि अहिलेको घुस अडियो प्रकरण सार्वजनिक भएको हो ।

थाई एयरलाइन्समा टेक्निनियसनका रुपमा सन् २०१८ देखि कार्यरत एक अधिकारीका अनुसार थाईले थाई स्माइल, क्याथे प्यासेफिक, कोरियालगायतका वायु सेवा कम्पनीलाई इन्जिनियरिङ सेवा दिँदै आएको छ ।

विगतमा थाई एयरलाइन्सको प्रतिनिधिका रुपमा नेपालमा काम गर्दा सिलापीका विषयमा अन्य वायु सेवा कम्पनीलाई सेवा दिन नमिल्ने भन्दै कुनै प्रश्न नउठाएको विमानस्थल कार्यालयले अहिले थाई स्माइलको प्रतिनिधिको रुपमा सिलापीले काम गर्दा किन प्रश्न उठायो ?

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एमआरओ सेवा दिन अनुमति लिएका कम्पनीले विमानस्थल कार्यालयमा निरन्तर उजुरी गरेपछि सिलापीलाई थाई स्माइलबाहेकका संस्थालाई सेवा नदिन पत्राचार गरिएको प्राधिकरण एक कर्मचारी दाबी गर्छन् ।

विगतमा नेपालमा एमआरओसम्बन्धी सेवा दिने स्याम्रो नाम गरेको एउटा मात्रै कम्पनी थियो । तर, कोरोना महामारीका बेला व्यवसायी दिपक भट्टको लगानी रहेको मर्करी एयर टेक्निक कम्पनीले पनि एमआरओ सेवा दिन अनुमति लिएको छ । यस्तै एरोसिस्टम नाम गरेको अर्काे कम्पनीले एमआरओसम्बन्धी सेवा दिने गर्छ ।

नेपाल वायु सेवा निगमले आफ्नो विमानलाई मात्रै एमआरओ सेवा दिन्छ भने तीन अन्य कम्पनीले नेपालमा उडान भर्ने विभिन्न वायु सेवा कम्पनीलाई सेवा दिने गर्छन् । थाइले निरन्तर ७–८ वटा कम्पनीलाई सेवा दिँदा नेपाली कम्पनीको सेवा विस्तार नहुँदा लामो समयदेखि थाई स्माइलको प्रतिनिधिको रुपमा कार्यरत सिलापीसँग विवाद हुँदै आएको थियो ।

भिडियो सार्वजनिक भएपछि क्लिकमान्डुसँग सिलापीले यो विषयमा आफूले केही नबोल्ने बताए । ‘म यो विषयमा केही पनि बोल्न चाहँदिन,’ सिलापीले भने, ‘तपाईंले सुनेको विषयमा मलाई केही भन्नु छैन ।’

थाई एयरको सेल्फ ग्राउन्ड ह्यान्डलिङसम्बन्धी अनुमति पत्रसमेत नवीकरणका क्रममा छ । सिलापी थाई स्माइलको सिफारिसमा नेपाल बसेकाले विमानस्थल कार्यालयले थाई स्माइलको प्रतिनिधिको रुपमा उल्लेख गरेको छ ।

तर, अहिलेसम्म थाई स्माइलले ग्राउन्ड ह्यान्डिलिङसम्बन्धी अनुमति लिएको छैन । सिलापीले थाई एयलाइन्सको सेफ्ल ग्राउन्ड ह्यान्डलिङ अनुमति पत्र नवीकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएका छन् ।

सिलापी थाई स्माइलको प्रतिनिधिको रुपमा काम गरिरहेकाले माघ २४ गते प्राधिकरणले थाई स्माइलको बक्यौतासम्बन्धी जानकारी माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्र पठाएको छ । नेपालमा थाई एयरलाइन्सले उडान नगरेकाले थाइको ग्राउन्ड ह्यान्डलिङ अनुमति नवीकरण नहुने प्राधिकरणका अधिकारी बताउँछन् ।

थाई स्माइलको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेकाले अहिले थाई एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ अनुमति जारी नहुने प्राधिकरणका एक अधिकारीको भनाइ छ ।

‘ठाकुरजीले थाईका प्रतिनिधिसँग घुस माग्नुभयो वा भएन छानबिनबाट खुलिहाल्छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘थाईलाई हामीले आफ्ना विमानलाई एमआरओ सेवा दिने लाइसेन्स दिएका थियौं तर अन्य विमानलाई समेत सेवा दिँदै आएको थियो । अन्य वायुसेवा कम्पनलाई सेवा नदिनु भन्ने सर्कुलर गरेकाले पनि विवाद भएको हुनसक्छ ।’

मन्त्री किराँतीले ठाकुरलाई निलम्बन गर्नुअघि थाई एयरलाइन्सलाई इन्जिनियरिङ सेवा दिनबाट किन रोकेको भन्ने विषयमा बुझ्न नै चाहेका छैनन् । भ्रष्ट्राचार जस्तो विषयमा सामान्य अध्ययन नगरी मन्त्रीस्तरीय निर्णयबाट कर्मचारी निलम्बन गरेर छानबिन प्रक्रिया अघि बढाउने निर्णय अपरिपक्व रहेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘ठाकुर विगतदेखि नै विवादित व्यक्ति हुन् । नेपालगन्ज विमानस्थल प्रमुख हुँदा होस् या त्रिभुवन अन्तर्राष्ट्रिन विमानस्थलको कर्पाेरेट प्रमुख हुँदा ठाकुरले सेवाग्राहीसँग अनुचित लाभ लिएको गुनासो आउँथ्यो,’ ती अधिकारीले भने, ‘अहिले पनि नेपालगन्ज विमानस्थलको ठेक्का प्रक्रियाको छानबिन गर्ने हो भने ठाकुरको गल्ती पाइने ठाउँ छ । तर, मन्त्रीज्यू स्टन्टको पछि लाग्नुभयो । कानुन कार्यान्वयन गरिरहेको कर्मचारीलाई अवधै काम गरिरहेका प्रतिनिधिले दिएको अडियो क्लिपका आधारमा निलम्बन गर्ने निर्णय गर्नुभयो ।’

ठाकुरले थाई एयरलाइन्सलाई गैरकानुनी रुपमा अन्य वायु सेवा कम्पनीलाई इन्जिनियरिङ सेवा नदिनु भन्दै पटक–पटक पत्र लेखेका थिए । त्यसपछि थाई एयरलाइन्सको इन्जिनियरले अडियो रेकर्ड गर्दै दूतावासमा पुर्‍याएका थिए । र, उक्त अडियो राजदूतले मन्त्री किराँतीलाई दिएका थिए ।


शरद ओझा