गोरखा ७ अर्ब लगानीमा ४३ मेगावाटको छिलुङ खोला हाइड्रोपावर बन्ने



फाइल तस्बिर

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा ७ अर्ब रुपैयाँको लागतमा ४३.२ मेगावाटको छिलुङखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

गोरखाको चुमनुब्री गाउँपलिकाको वडा नम्बर ३ मा पर्ने छिलुङ खोलामा यो जलविद्युत आयोजना निर्माणका लागि हनुमान हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रस्ताव गरेको हो । रन अफ रिभर प्रकारको रहेको यो आयोजना ७ अर्ब १२ करोड ८० लाखको अनुमानित लागतमा निर्माण गर्ने तयारी भएको हो ।

विस्तृत डिजाइन, सडक निर्माण र वित्तीय व्यवस्थाका साथ आयोजनाको निर्माण अवधी ६ वर्षको राखिएको छ । कुल उर्जा क्षमता २५८.५१ गिगावाट आवर रहने यो आयोजनाले सुख्खा मौसममा ७९.८३ गिगावाट आवार र वर्षाको मौसमका १७८.६९ गिगावाट आवर विद्युत उत्पादन गर्ने आयोजनाको वातावरणिय प्रभाव मूल्याकंन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजनालाई नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको फिलिम सब–स्टेसनमा जोड्ने तयारी रहेको छ । आयोजना अन्तर्गत २६ मेगाभोल्ट एम्पियर (एमभिए) का दुई वटा ट्रान्सफर्मर रहनेछन् भने दुई वटा २१.६ मेगावाट क्षमताका टर्बाइन रहने जनाइएको छ ।


क्लिकमान्डु