मीरगञ्ज पुल: तेस्रो मुलुकबाट आउने सवारीले ११६ किलोमिटर घुम्न नपर्ने



विराटनगर । चारलेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेको एक वर्षपछि भारतले आधिकारिक रुपमा पुलबाट आवत–जावत गर्न अनुमति दिएको छ । भारतीय पक्षले एक सूचना जारी गर्दै तेस्रो मुलुकका लागि ढुवानीका सवारी साधनलाई आवत–जावत गर्न अनुमति दिएको हो ।

मोरङ ब्यापार संघ लगायतका संघ संस्थाको पहलमा दुई महिनाअघिबाट पुल अनौपचारिकरुपमा संचालनमा आएको थियो।

यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालवाहक सवारी साधनहरु सुनसरीको भण्टावारीस्थित सेतुबन्ध नाका हुँदै ११६ किलोमिटर घुमेर विराटनगर भन्सार आउनुपर्ने झन्झटबाट मुक्त भएका छन्। अब ४ किलोमिटर दूरी पार गर्नासाथ नेपालको विराटनगर आईसीपी आइपुग्छन् ।

भारतको पटनास्थित कष्टम विभागले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल संचालनमा आएको र त्यसबाट मालवाहक आवत–जावत गर्ने अनुमति दिइएको जनाएको छ ।

यसअघि भारतका जोगवनीस्थित ल्याण्ड कष्टम र आईसीपीबीच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात–निर्यात भइरहेको थियो ।

कष्टम विभागले नै सूचना जारी गरेपछि अब तेस्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्ने जनाउँदै आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आईसीपीबाटै आयात र निर्यात औपचारिक सुरु भएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाइमा धेरै पटक नेपाल र भारतीय अधिकारीलाई पुल संचालनका लागि अनुरोध गरिएपछि अनौपचारिक रुपमा दुई महिनादेखि पुल संचालनमा आएको थियो ।

पुल संचालनमा आए पनि भारत र नेपालका लागिमात्र कार्गो आउने जाने गर्दथे । तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारीस्थि सेतुबन्ध नाकानै प्रयोग हुँदै आएको थियो । तर अहिले भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत–जावत खुलेको जनाएका हुन् ।

उनले यसअघिको २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवत–जावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरेको थियो ।

अहिले उक्त सूचनाले रोकेर आवत–जावतको प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रिरुट खारेज गरी पुल निर्माण सम्पन्न भएकाले पहिलेकै अवस्थामा जोगवनी भन्सार र आईसीपीबाट माल आवत–जावतका लागि सबैलाई जानकारी दिइएको जनाएका छन् ।

एक वर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल संचालनमा आएको छ । पुल पूर्णरुपमा संचालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधान भारतीय कष्टम हुँदै विराटनगर आईसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक वर्षमा २२ अर्ब ५० करोड रुपैयाँ बराबरको विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो ।

जोगवनी नाकाबाट मालवाहक सवारी साधन जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार रुपैयाँ अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक वर्षमा व्यवसायीले ११ करोड ५२ लाख रुपैयाँ बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।

मोरङ व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल संचालन गराएर नै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष नवीन रिजालले आफ्नो कार्यसमितिको सम्पूर्ण टिमनै पुल संचालन गर्नका लागि परिचालन गरेका थिए ।

भारतीय पक्षबाट समेत आधिकारिक रुपमा पुलसंगै नाका पनि संचालनमा आएको जानकारी दिएपछि हर्षित देखिएका रिजालले ‘यो सबैको अथक प्रयासको परिणाम भएको’ प्रतिक्रिया दिए ।

प्रदेश १ को औद्योगिक लाइफलाइन नै ध्वस्त भएको बेला आफ्नो कार्यसमितिले निरन्तर रुपमा यो मुद्दालाई उठाएर समस्या समाधानका लागि पहल गरेको र पहलकै कारण एक वर्षमै पुल र नाका पूर्ण संचालनमा आएकोमा आफूले एउटा मिसन पूरा गरेकोमा गर्व लागेको रिजालले बताए ।


क्लिकमान्डु