पर्यटकको रोजाइमा परेको ज्यामिरे दहमा के छ ?



घोराही । दाङको घोराही उपमहानगरपालिका-१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

अन्य दिनको तुलनामा बिदामा अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ पुनले बताए।

जिल्ला बाहिरबाट पनि सर्वसाधारण घुम्न आउने गरेको उनको भनाइ छ । दैनिक सरदर ४० जना आउने गरेको उनको भनाइ छ । यहाँ मङ्सिरदेखि वैशाखसम्म बढी भीड हुने गरेको छ ।

पुनले तीन वर्षदेखि दहमा डुङ्गा चलाइरहेका छन् । मासिक १५ हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । एक सय २० मिटर गहिरो उक्त दहको १२ बिघा क्षेत्रमा पानी छ भने वरिपरीको क्षेत्रफल पाँच किलोमिटर छ ।

ज्यामिरे दहलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले डुङ्गा सञ्चालन गरिएको छ । यहाँ डुङ्गा सवार गर्न, पौडी खेल्न र वनभोजका लागि सर्वसाधारण पुग्ने गरेका छन् । प्राकृतिक रूपमा रहेको उक्त दह बवरपर पर्खाल निर्माण गरिएको छ ।

बिदाको समय तथा चाडपर्वमा डुङ्गा शयर गर्नेको घुइँचो लाग्छ । डुङ्गा शयर गरेबापत एक जनाबाट ५० लिने गरिएको छ । ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै यहाँ व्यापारसमेत बढेको घोराही उपमहानगरपालिका–१३ कमलघारीकी गीता नेपालीले बताए । उनी चार वर्षदेखि ज्यामिरे दहनजिकै व्यापार गर्दै आएका छन् ।

दह रहेको क्षेत्रमा प्रतिक्षालय र खानेपानीको व्यवस्था भए सहज हुने स्थानीय टीकाराम गिरी बताउँछन । प्रतिक्षालय नहुँदा घुम्न आउनेलाई समस्या भएको छ । ‘यस क्षेत्रको विकास गर्न सके धेरै सम्भावना छन्’, उनले भने । यसलाई पर्यटकीय हब बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु