हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययनका लागि निजी लगानीकर्तासँग छलफल भइरहेको छः मन्त्री लिङ्देन



काठमाडौं । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच मन्त्रालयमा भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता दिई काम गरिरहेको उल्लेख गर्दै हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा समेत निजी लगानीकर्ता र सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिए ।

छिमेकी राष्ट्रलाई विद्युत् निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उनले बङ्गलादेशसँगको सम्झौता प्रक्रियामा रहेको नेपालले ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गर्न लागेको बताए ।

उपप्रधानमन्त्री लिङ्देनले आवश्यक ट्रान्समिसनको व्यवस्थासहित समानान्तररूपमा अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी अन्य छिमेकी मुलुकसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गरिने स्पष्ट पारे ।

नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपेली युनियनबाट सहयोग पाएको भन्दै उनले भविष्यमा ऊर्जा क्षेत्रमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु