रविको पासपोर्टबारे प्रहरीले उजुरी नलिएपछि सरकारी वकिल कार्यालयमा निवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आएपछि पासपोर्ट लिएर फौजदारी अपराध गरेको विषयमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै दिएको निवेदन प्रहरीले दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा निवेदन पेस भएको छ ।

यसअघि रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्चमा रिट दायर गरेका युवराज पौडेलले लामिछानेको राहदानी सम्बन्धमा छानबिन गर्नका लागि उजुरी दर्ता लागि जिल्ला प्रहरी परिसर टेकुका नाममा आदेश माग गर्दै मंगलबार निवेदन पेस गरेका हुन् ।

‘रवि लामिछानेले गरेको कसुर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसुर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)को व्यवस्थाअनुसार निज कसुरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानुन बमोजिम मुद्दा चलाई पाउँ,’ जिल्ला सरकारी वकिलको कार्यालयमा पेस भएको निवेदनमा भनिएको छ ।

प्रहरी परिसर टेकु, काठमाडौंले प्रमाणसहित जाहेरी दिँदा पनि उजुरी दर्ता नगरेपछि आफू कानून बमोजिक सरकारी वकिलको कार्यालय आउनु परेको उनले निवेदनमा उल्लेख गरेका छन् ।

‘गैर नेपाली नागरिक रही प्राप्त गरेको सो ०८८३४८३८ नम्बरको निज कसुरदारको नामको राहदानी, राहदानी ऐन बमोजिम रद्द गर्न तथा राहदानी सम्बन्धी कसुरको अनुसन्धान भई रहेको सिलसिलामा निज कसुरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसुरको अनुसन्धान तथा कानुन बमोजिम मुद्दाको कारबाही चलाई पाउँ भनी मिति २०७९ माघ १७ गते जिल्ला प्रहरी परिसर टेकु, काठामडौंमा जाहेरी दर्ताको लागि पेस गरिएकोमा सो कार्यालयले यथोचित प्रमाण हुँदाहुँदै पनि सत्ता शक्तिको कारण जाहेरी दर्ता नगरेको,’ पौडेलले निवेदनमा उल्लेख गरेका छन् ।

प्रहरीले उजुरी लिन नमानेमा सरकारी वकिलको कार्यालयमा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ । उनले दिएको निवेदन दर्ता भएको छैन । पौडेलले आफूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबारका लागि बोलाएको जनाकारी दिए।


क्लिकमान्डु