विराटनगरमा एक अर्बको लगानीमा खुल्यो सलाइन उद्योग

0
Shares

विराटनगर । कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ ।

एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा मोरङको बुढीगङ्गा गाउँपालिका २ मा ‘एलेक्सा लाइफसाइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसायिक उत्पादन थालेको हो ।

उद्योगको वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान् कोइरालाले शुक्रबार उद्घाटन गरेका छन् ।

स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् ।

उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधीहरूमा आत्मनिर्भर बन्ने नेपालीहरूको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश ठाकुरले बताए ।

उद्योगमा ठाकुर र रञ्जित भगतसहितका लगानीकर्ताहरूले लगानी गर्नुभएको छ ।

लगानीकर्ताहरूले पाँच वर्षको अध्ययन र योजनापछि यो महत्त्वाकाङ्क्षी परियोजनालाई मूर्त रूप दिनुभएको हो । उद्योगमा जर्मन प्रविधिको अत्याधुनिक मेसिनहरू प्रयोग गरिएका छन् ।

उद्योगले पहिलो चरणमा १०० एमएलदेखि ३ हजार एमएलसम्मको ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ सलाइन उत्पादन गरिरहेको छ ।

आगामी दिनमा उत्पादन विस्तार गर्दै १ देखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधीहरू समेत उत्पादन गरी बजारमा ल्याउने योजनाका साथ काम गरिरहेको उद्योगका निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।

लगानीकर्ताहरू निरुत्साहित भइरहेको बेलामा व्यावसायिक चुनौतीसँग जुध्दै सञ्चालनमा आएको यस उद्योगले बजार व्यवस्थापनमा भने केही कठिनाइ झेलिरहेको जनाएको छ ।

‘हाम्रो मुख्य उद्देश्य गुणस्तरीय औषधी उपलब्ध गराउनु र परनिर्भरता घटाउनु हो,’ निर्देशक ठाकुरले भने, ‘तर उत्पादन लागत उच्च हुनु र सोही अनुपातमा बजार मूल्य समायोजन नहुँदा हाल घाटा सहेरै उत्पादन गरिरहेका छौँ ।’

उनले स्वदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले नीतिगत सुधार र सहुलियत दिनुपर्नेमा जोड दिए ।

नेपालको औषधी बजारमा वैदेशिक कम्पनीहरू उत्पादनको वर्चस्व रहेको छ ।

यस्तो अवस्थामा गरिएको ठुलो लगानीले नेपाली उद्योग क्षेत्रमा नयाँ उत्साह थपेको र दीर्घकालमा विदेशमा निर्यातसमेत गर्ने लक्ष्यका साथ काम गर्ने उद्योगीहरूले बताए ।