नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई परिसंघको स्वागत



काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई एवं शुभकामनासहित मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ ।

अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताए ।

उनले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद दिँदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे ।

उनले मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकिरण गरी सहयोग गर्नुपर्ने बताए ।

यस्तै उनले उद्योगहरुको प्रबद्र्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे । अध्यक्ष अग्रवालले चालुपूँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाईमा एकरुपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल संचालन गर्न आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडी बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराए ।

उनले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफैं पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो ननप्रिफर्मिङ लोन रहेको बताए ।

उनले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत आग्रह गरे ।

संघका नवनिर्वाचित कार्यसमिति र परिसंघ सदस्यहरुबीच भएको अन्तरक्रियामा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेशनल काउन्सिल सदस्यहरु, नेपाल बैकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरु अजय विक्रम शाह, दिपककुमार डे, सल्लाहाकार अशोक शम्सेर राणालगायत थिए ।


क्लिकमान्डु