बागलुङको छुर्पी अमेरिका निर्यात, सहकारीका सदस्यका खातामा आउँछ पैसा



बागलुङ । ग्रामीण क्षेत्रमा रहेका सहकारी संघ, संस्थाहरुले उत्पादनमा जोड दिने र आफू पनि त्यसैमा अग्रसर हुन थालेका छन्।

किसानले थोरै रकम जोहोरो गरेर कृषि, पशुपालनलाई आफ्नो गर्जो टार्ने माध्यम बनाउने गरेका छन् । त्यसलाई ग्रामीण क्षेत्रमा भएका सहकारीले सहयोग गर्ने गरेका छन् ।

बागलुङ जिल्लाका किसानबाट सहकारी संस्थाले दुध संकलन गर्ने र त्यो दुध बागलुङ दुग्ध उत्पादक सहकारी संघले किन्ने र त्यो दुधलाई माग भएसम्म त्यही बिक्री गर्ने र बढी भए त्यसबाट छुर्पी बनाएर काठमाडौं हुँदै अमेरिकासम्म निर्यात गर्ने गरेको छ ।

यसले ग्रामीण क्षेत्रका सहकारी बचत तथा ऋणमा मात्रै नभएर उत्पादनमा पनि जोडिएको देखाउँने स्थानीय बताउँछन् ।

किसानले उत्पादन गरेको दुध सहकारीमार्फत संकलन गरेर बागलुङ दूग्ध उत्पादन सहकारी संघले जिल्लालाई दुधमा आत्मनिर्भर मात्रै बनाएको छैन, दुधबाट बनेको छुर्पी अमेरिकासम्म निर्यात गर्ने गरेको छ । छुर्पी प्रतिकेजी १२ सय रुपैयाँका दरले विदेश निर्यात हुने गरेको छ । त्यति मात्रै नभएर पनिर, ध्यू, खुवासमेत सहकारीले बिक्री वितरण गर्दै आएको छ ।

किसानबाट सहकारीले संकलन गरेको दुध संघले किन्ने, किनेको दुध खपत हुनेजति त्यही खपत गर्ने र बढी भएको दुधबाट खाध्य वस्तु बनाउने गरिएको छ ।

संघले छुर्पी, पनिर, ध्यू, खुवा लगायत वस्तु काठमाडौं हुँदै अमेरिकासम्म निर्यात गर्ने गरेको संघका अध्यक्ष दिपक गौतमले बताए।

यस्ता वस्तु उत्पादनका लागि खाध्य व्यवस्था विभागबाट अनुमति लिएको र घरेलु उद्योगमा समेत दर्ता भएको गौतमले बताए ।
दुधमात्रै बिक्री गर्न उद्योगमा दर्ता गर्न नपर्ने तर, दुधबाट उत्पादन हुने वस्तु बिक्री गर्न घरेलु उद्योगमा दर्ता हुनुपर्छ ।

दुधबाट बनेका खाध्य वस्तु उत्पादन गरेर बिक्री गर्न झन्झट हुने भए पनि संघले त्यसलाई प्राथमिकतामा राखेको छ । दुधमात्रै बिक्री गर्दा किसानको दुध सँधै खरिद गर्न समस्या हुने, किसानलाई प्रोत्साहित गर्न र उनीहरुले उत्पादन गरेको दुधले राम्रो मूल्य पाउन तथा दुधबाट वस्तु उत्पादन गर्न सकेको खण्डमा रोजगारी बढ्ने, दुध बढी संकलन हुँदा पनि समस्या नहुने अध्यक्ष गौतमको भनाइ छ ।

संघको गत आवमा दुध तथा दुग्धजन्य पदार्थ बिक्री गरेर हुने आय १८.९२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ६ करोड ५९ लाख ६२ हजार ५३६ रुपैयाँ आम्दानी संघले गरेको थियो । गत आवमा दुध तथा दूग्ध पदार्थ बिक्री गरेर हुने आय ७ करोड ८४ लाख ४७ हजार ५५६ रुपैयाँ रहेको छ ।

अध्यक्ष गौतमका अनुसार किसानले उत्पादन गरेर सहकारीमार्फत खरिद गरेर उक्त दुध संघले उपभोक्तासम्म पुर्याउने र बढी भएमा दूग्धजन्य वस्तु उत्पादन गर्ने गरेको छ ।

हाल संघमा विभिन्न १४ वटा कृषि तथा पशुपालन सहकारी संस्थाहरु जोडिएका छन् । उक्त सहकारीमा आबद्ध भएका करिब १५ सय सदस्यमध्ये हाल करिब १२ सय किसानले उत्पादन गरेको दुध खरिद गर्ने र किसानलाई सहकारीमार्फत उनीहरुको खातामा पैसा पठाउने गरेको छ ।

‘हामीले दुधको फ्याट अनुसार किसानलाई पैसा दिने गरेका छौं’ संघका अध्यक्ष गौतमले भने, ‘हामीले सिधैं किसानलाई पैसा दिने होइन, हामी दुधको फ्याटअनुसार प्रतिलिटर ९६ रुपैयाँमा खरिद गर्छौं र संस्थालाई ९६ रुपैयाँ पठाउने गरेका छौं, ५.७ फ्याटको दुधको किसानले सहकारीबाट ९५ रुपैयाँसम्म पाउने गरेका छन् ।’ त्यो दुध संघले उपभोक्तालाई प्रति लिटर १२० रुपैयाँका दरले बिक्री गर्दै आएको छ ।

हाल संघले दैनिक २५ सयदेखि ३ हजार लिटर दुध संकलन गर्ने गरेको अध्यक्ष गौतमको भनाइ छ ।

दुधको गुणस्तर राम्रो भएकाले उपभोक्ता पनि सन्तुष्ट रहेको र किसान पनि राम्रो मूल्य पाएर सन्तुष्ट रहेको गौतमले बताए । संघले अहिले किसानले उत्पादन गरेको दुध मात्रै लिने नभएर पशुको बीमा पनि गर्ने गरेको छ । यस्तै एक वर्षमा एक पटक औषधी पनि वितरण गर्ने गरेको संघले जनाएको छ ।

पशुको बीमा गरेपछि सदस्यमा पुश पालन गर्न दुध उत्पादनमा जान अझ बढी चासो देखिएको गौतमको अनुभव छ ।उनले बागलुङका किसानले दुध राम्रोसँग उत्पादन गर्ने भएपनि लागत बढी पर्दा आम्दानी कम हुने गरेको बताए ।

घाँस चोकर अन्यत्रबाट आयात गनुपर्ने हुँदा किसानको लागत बढ्न जाने गरेको उनको भनाइ छ ।

सरकारी निकायले सहकारी संघ, संस्थालाई भन्दा पनि सिधै किसानलाई नै अनुदान दिने व्यवस्था गर्न सकेको खण्डमा किसानका लागत कम हुने र आम्दानी बढुने उनको भनाइ छ । यो विषयमा जिल्लाका विषयगतसँग र सरकारी नियकासँग पनि कुरा भइरहेको अध्यक्ष गौतमले बताए।

संघले कुनै पनि निकायबाट अनुदान नलिएको बताए । संघ खोल्दा चिलिङ भ्याट, मेसिन, जेनेटेरका लागि अनुदान लिने प्रयास गर्दा नपाएको, तर अहिले पाए पनि नलिने अध्यक्ष गौतमको भनाइ छ ।

किसानले उत्पादन गरेको दुध सहकारीले लिने र सहकारीले दुध लिएपछि महिना महिनामा खातामा नै राखिदिँदा सहकारीका सदस्यहरु पनि खुसी रहेको बताउँछन् ।


सोभित थपलिया