मोबाइल, इन्टरनेट बैंकिङ्ग विदेशमा चलाउन बैंकलाई अनिवार्य जानकारी गराउनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सुविधा विदेशबाट प्रयोग गर्ने भएमा विदेश जानुअघि अनिवार्यरुपमा बैंकलाई पूर्व जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङ्ग र मोबाइल बैकिङ्ग प्रणालीमा प्रयोगकर्तालाई आवद्ध गराउँदा ग्राहकले विदेशबाट सेवा प्रयोग गर्ने÷नगर्ने व्यहोरा अनिवार्यरुपमा खुलाउने व्यवस्था मिलाउनुपर्नेछ ।
ग्राहकले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सुविधा विदेशबाट प्रयोग गर्ने भएमा विदेश जानुअघि अनिवार्यरुपमा बैंकलाई पूर्व जानकारी गराउनुपर्ने व्यवस्था मिलाउनु पर्ने नयाँ व्यवस्था गरिएको छ ।
उपकरण प्रयोग गर्ने प्रयोगकर्ताले राष्ट्र बैंकबाट तोकिएको कारोबार रकमको सीमा सम्बन्धी निर्देशनको अधीनमा रही कारोबारमा हुन सक्ने जोखिम विश्लेषण गरी कारोबार सीमा निर्धारण सक्नेछन ।
कारोबार रकमको सीमा थपधट गर्न सक्ने व्यवस्था ग्राहकसँग गरिने सम्झौतामा उल्लेख गर्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । संस्थाले कारोबारको अडिट ट्रेल को उचित व्यवस्था मिलाउनुपर्नेछ । अडिट टे«ल ट्रयाकिङको प्रयोग मार्फत संस्थाले स्वदेश तथा विदेशबाट लगिङ गरी भएका कारोबारहरूको छुट्टाछुट्टै रिपोर्ट तयार गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।]
भुक्तानी कारोबारलाई भरपर्दो, सुरक्षित तथा विश्वसनीय बनाउनका लागि प्रणालीमा लगिङ गर्दा र इलेक्ट्रोनिक पेमेन्ट ट्रान्ज्याक्सन अथेन्टिकेशन गर्दा कम्तीमा दुई तहको प्रमाणीकरण सुनिश्चित हुने व्यवस्था मिलाउनु पर्नेछ । यस्तै संस्थाले इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, वालेट लगायतका उपकरणहरूमामार्फत भएका शंकास्पद कारोबारहरूको विवरण समेत वित्तीय जानकारी इकाईमा अविलम्ब उपलब्ध गराउनु पर्नेछ ।