राष्ट्र बैंकको नयाँ नीतिः बैंक तथा वित्तीय संस्थाले वालेटमा जम्मा गरे बराबरको रकम छुट्टै खाता खोलेर राख्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट सेटलमेन्ट सम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले विद्युतीय वालेट सञ्चालन गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूले वालेटमा जम्मा रहेको इ– मनी बराबरको रकम आफ्नै संस्थामा एउटा छुट्टै खाता खोली जम्मा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । र सोही खाताबाट भुक्तानी कारोबारको फछ्र्यौट गर्नु पर्ने व्यवस्था गरेको छ ।

इ–मनी (विद्युतीय वालेट) जारी गर्ने संस्थाले सेटलमेन्ट खातामा रहेको मौज्दात रकम भन्दा अधिक नहुने गरी इ–मनी जारी गर्नुपर्नेछ । ग्राहकले गरेको कुनै पनि कारोबार समयमै फस्र्यौट हुन नसकेमा उक्त कारोबारको रकमसम्बन्धी दायित्व सम्बन्धित भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका विद्युतीय वालेट बाहेक अन्य संस्थाको हकमा इ– मनी वापत वालेटमा सृजना भएको रकम भुक्तानीको दायित्व सम्बन्धित विद्युतीय वालेट सञ्चालक संस्थाको हुनेछ । उक्त रकम सम्बन्धित संस्थाले भुक्तानी गर्न नसकेमा भुक्तानीको अन्तिम दायित्व सेटलमेन्ट बैंकको हुने राष्ट्र बैंकले जनाएको छ ।

सेटलमेन्ट बैंकमा रहेको इ-मनी वापत सृजित दायित्व रकम मध्ये भुक्तानी-फछ्र्यौटको लागि आवश्यक पर्ने तरलता व्यवस्थापन गरी बाँकी रकम ब्याज आर्जन हुन सक्ने गरी सोही बैंकमा मागेको बखत तुरुन्त प्राप्त हुने खाता कल एकाउन्टमा राख्न सक्ने व्यवस्था रहेको छ ।

विद्युतीय वालेट सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाले विद्युतीय वालेट (इ-मनी) र सेटलमेन्ट खाता दुवैको रिपोर्टिङ्ग तोकिएको ढाँचामा गर्नु पर्नेछ ।


क्लिकमान्डु