सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योगको मान्यता दिइनेछः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताएका छन् ।

मंगलवार नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सञ्चार माध्यमको व्यवसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।

उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिवद्ध रहेको बताए । उनले आम सञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिवद्ध रहेको बताए । उनले पत्रकार र सञ्चारमाध्यमहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभुति गरिने बताए । त्यस्तै पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गरिने पनि उनले उल्लेख गरे ।

प्रधानमन्त्रीको भनाइ जस्ताको त्यस्तै

वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधार निर्माण गर्नुका साथै कानूनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिवद्ध छ । मलाई लाग्छ तपाईहरुले अहिलेको सरकारको व्यवहार, गतिविधिबाट यसलाई आत्मसाथ गर्नुभएकै छ । सञ्चार माध्यम र सञ्चारकर्मीको प्रवद्र्धन र हीतका निम्ति सञ्चार माध्यमको व्यवसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको छ । आम सञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रुपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति लिइनेछ । सञ्चारकर्मीहरुको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध छ । पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभुति गरिनेछ । सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमाको व्यवस्था गरिनेछ । श्रमजीवि पत्रकारका लागि निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रुपमा स्थापित गरिनेछ । चुनौतिपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तिन प्राथमिकता निर्धारण गरी अगाडी बढिरहेको छ । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशिल कार्यान्वयन, चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार एवं जनसेवा र जनजीविकाको क्षेत्रमा प्रभावकारी कार्य सम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार हो भन्ने मेरो विश्वास छ । सरकारको यस कार्यभारलाई व्यवस्थित रुपमा संप्रेषण गर्न म टेलिभिजन परिवारको ध्यान विशेषरुपले आकृष्ट गर्न चाहन्छु ।


क्लिकमान्डु