सीएनआई कोसी एक्सपोको तयारी अन्तिम चरणमा



विराटनगर । सीएनआई कोसी एक्सपो २०२३ को तयारी पूरा भएको छ । उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले सोमबार पत्रकार सम्मेलन गरेर सीएनआई कोसी एक्सपो २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

सो एक्सपो यही माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर–२ स्थित शंकरपुरमा आयोजना गरिने भएको छ । एक्सपो अन्तर्राष्ट्रियस्तरको हुने र कृषि तथा औद्योगिक प्रदर्शनीको लागि तयारी अन्तिम चरणमा पुगेको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा ३ सय ७० वटा स्टलहरू रहने छन् । प्रदर्शनी साढे ३ देखि ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनी सम्पन्न गर्न ३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

विगत वर्षझै यस वर्ष पनि विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ । विद्यार्थीले प्रतिव्यक्ति ५० रुपैयाँ तिरेर प्रदर्शनीस्थल प्रवेश पाउँछन् भने विद्यार्थीबाहेकले प्रतिव्यक्ति १ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

१२ बजेअघि प्रदर्शनीस्थल प्रवेश गर्न चाहने विद्यार्थी समूहलाई विद्यालयको सिफारिसमा निःशुल्क प्रवेश दिइने भएको छ । ३.५० बजेदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ टिकट दर तोकिएको छ । सो समय मनोरञ्जनको प्रयोजनका लागि भएको बताइएको छ ।

सुरक्षाको राम्रो प्रबन्ध गरिएको भन्दै सीएनआई प्रदेश १ का अध्यक्ष घिमिरेले भनोरञ्जन र पर्यटनको लागि प्रदर्शनीस्थल अलग्गै एक ठाउँ र रोजगार र व्यापार अर्को अलग्गै ठाउँमा राखिएको बताए । प्रदर्शनी स्थलमा धेरै भीडभाड हुन नदिन अलगअलग ७ ठाउँमा पार्किङस्थलको व्यवस्था गरिएको उनको भनाइ छ ।

प्रदर्शनीमा स्वदेशमा उत्पादित वस्तुलाई प्राथमिकता राखिएको र विदेशी प्रविधिको आदानप्रदान गर्न त्यस्ता वस्तुलाई पनि राख्न दिइएको छ ।

उद्योगी व्यवसायी चर्को बैंक व्याजदर, लगानीयोग्य रकमको अभाव, ऋण तथा किस्ता तिर्न गरिने चर्को दबावलगायतका समस्याबाट तनावका बावजुद पनि उद्योगी व्यवसायीले अर्थतन्त्र चलायमान गर्न प्रदर्शनीको आयोजना गरेको अध्यक्ष घिमिरेको दाबी छ । प्रदर्शनीको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीले गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रदर्शनीमा प्रदेश १ सरकार, विराटनगर महानगरपालिका, दुहवी नगरपालिका, टंकीसिनुवारी गाउँपालिकालगायतका स्थानीय सरकारहरुको समन्वय, सहयोग र सहकार्य हुने बताइएको छ ।


क्लिकमान्डु