अमेरिकाको सहयोग आगामी दिनमा वृद्धि हुँदै जाने प्रधानमन्त्री प्रचण्डको अपेक्षा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भेटवार्ता गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ ।

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएकी हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा गरेका छन् ।

भेटमा उपविदेश मन्त्री नुल्यान्डले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने नेपालस्थित अमेरिकी राजदूताबासले जनाएको छ ।

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन् । त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर-आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छिन् ।


क्लिकमान्डु