रवि लामिछानेले पुन: लिए नागरिकता



काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार लामिछानेले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पूरा गरेर नागरिता पुन प्राप्त गरेका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार फैसला गरेसँगै लामिछाने आइतबार बिहानै नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिको प्रकृया नगरेको भन्दै प्रकृया शुरु गर्नुपर्ने फैसला गरेको थियो ।

नागरिकता ऐन २०६३ अनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत रद्द हुने व्यवस्था भएपनि लामिछानेले रद्द भएकै नागरिकताको आधारमा नेपालमा काम काज गर्दै आएका थिए । सर्वोच्चले पुरानो नागरिकता बमोजिम भएका सबै कामकाज गैरकानूनी ठहर गर्दै लामिछानेले नागरिकता नियमावली बमोजिम पुन: नागरिकता प्राप्तिको प्रकृया शुरु गर्नु पर्ने फैसला गरेको थियो ।

नियमावली अनुसार पुन नागरिकता प्राप्त गर्न अटेर गर्दै आएका लामिछानेले सर्वोच्चको फैसलापछि जिल्ला प्रशासन कार्यालय पुगुर प्रमुख जिल्ला अधिकारीलाई अमेरिकी नागरिकता त्यागेको निस्सा दिँदै नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।


क्लिकमान्डु