प्रेमकी पत्नीले गृहमन्त्रीसँग सोधिन्: अब बच्चाहरुको भविष्य के हुने हो ?



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गरेका छन् ।

आचार्य परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुगेका गृहमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताए ।

उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरुमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशमा केही गरौँ भन्ने मनशायबाट आएको बताए । उनले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिवद्धता जनाए ।

आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने उनले बताए ।

‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरुबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्नसक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन’ लामिछानेले भने ।

मृतक प्रेमकी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरिन् । उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन् ।

‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरुको भविष्य के हुने हो ? मैले कसरी गर्ने, मेरो छोरीहरुको भविष्य, पढाइ सुनिश्चित गरियोस्, मैले सक्ने रोजगारी पनि दिनु, म यो आर्थिक उहाँले तिर्ने कतितिर छ यो सक्दिन राज्यले यसमा सहयोग गरोस् । यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले भर्न नै कति लाख खर्च भएन ’उनले भनिन् ।

उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको बताइन् ।

गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षिय आचार्यको बुधवार बिहान उपचारका क्रममा निधन भएको थियो ।


क्लिकमान्डु