रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो ।

तर आजको इजलासमा लामिछानेतर्फका र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ ।

आज रिट निवेदनका तर्फबाटका साथै लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल र सुशील पन्तका साथै सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।

रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुन: प्राप्तिका लागि कुनै पनि प्रक्रियामा नगएको बताएका छन् । लामिछाने पक्षका अधिवक्ताहरुले भने नागरिकता ऐनको दफा १०(१)बमोजिमको अवस्था भए पनि नियमावलीको नियम ११ मा कायम नरहेको नागरिकताको बारेमा कुनै पनि कार्यविधि उल्लेख नगरिएकाले स्वत: पुनः कायम हुने दलिल पेस गरेका थिए ।


क्लिकमान्डु