कांग्रेसले आफू सरकारमा हुनैपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन् ।

कांग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि आवश्यक नठानेको उनको टिप्पणी छ ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफू सरकारमा सहभागी भए भईगो नि भन्ने एउटा मात्रै सुत्र लिएर हिँडने गर्ने गरेको बताए ।

कांग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास भनेको आफ्नो विकास मात्रै भएको उनको तर्क थियो । ‘देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठानेन । नेपाली काँग्रेसको एउटा मात्रै सुत्र छ–आफू सरकारमा हुनुपर्छ भई गो नि । त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली कांग्रेसको सरकार । देशमा लोकतन्त्र, देशमा विकास । त्यही हो । यदि देशमा सरकार कांग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भएपनि केही छैन । विकास हुनुपर्नेको भएकै छ । त्यही हो विकास । यस्तोमा बोल्न नसक्ने अभिसप्त एउटा जमात हुन्छ’ ओलीले भने ।

अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुडी खाने पार्टी नभएको बताए । ओलीले केही पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरुको राजनीति टिकाउ नहुने धारणा राखे । मौसमी खालका कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरु स्थायी रुपमा रहन नसक्ने उनको भनाइ थियो ।

‘केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्न, गन्तव्य के हो त त्यो गन्तव्य हुँदैन । सामाजिक असन्तुष्टिलाई उपयोग गर्ने । समाजमा असन्तुष्टि बढयो । त्यसकारण त्यसलाई उपयोग गरेर जाने । कोही एउटा मौसमी खालका कुराहरुबाट ह्वात्त आउने । यस्ता कुराहरु राजनीतिमा देखा पर्छन् । तर ती स्थायी हुँदैनन् । हामीले दुनियाँकै इतिहासमा अनेक प्रयोग देखेका छौं । तर ती प्रयोग यदि राष्ट्रको आजको अवस्था के हो ? यसको विश्लेषण गरेर, समस्य के हुन ? तीनका समाधान के हो भनेर पुग्ने कहाँ हो ? कसरी भन्ने कुरामा केन्द्रित नभएको राजनीतिक त्यस्तो राजनीति अस्थायी हुन्छ’ ओलीले भने ।


क्लिकमान्डु