यती एयरको दुर्घटनामा मृत्यु भएका कति शव फेला परे ? प्राधिकरण र अस्पतालको फरक फरक विज्ञप्ति



काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले यति एयरलाईन्सको दुर्घटनामा मृत्यु भएका ७० जनाको शव प्राप्त भएको जनाएको छ ।

जबकी गत बुधबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरेको खोज तथा उद्धार समन्वय केन्द्रले यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका ७१ जनाको शव प्राप्त भएको जानकारी दिएको थियो ।

आइतबार त्रिभुवन विश्वाविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको फरेन्सिक मेडिसिन विभागले यती एयलाइन्सको दुर्घटनामा मृत्यु भएका ७२ जना मध्ये २ जनाको शव अझै नपाएका कारण सनाखत गर्दै अन्तिम दाहसंस्कारका लागि परिवारलाई शव बुझाउन कठिन भएको जनाएको छ ।

विभागले घटनास्थलमा मृतक शवहरुको खोजतलास एवं उद्धार कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेको छ ।


जसले गर्दा यति एयरलाइन्सको दुर्घटना मूत्यु भएका कति जनाको शव प्राप्त भयो भन्ने विषयमा द्विविधा उत्पन्न भएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितका उच्च अधिकारीहरु गत बुधबार देखि यति एयरलाइन्सको दुर्घटनामा मृत्यु भएका मध्ये ७१ शव प्राप्त भइसकेको बताउँदै आएका छन् ।

सोही आधारमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत दुर्घटनामा मृत्यु भएका मध्ये ७१ शव प्राप्त भएको समाचार सम्प्रेषण गरेका छन् ।

यता शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागले २ वटा पोकामा भएका साना साना वडी दुक्रालाई शव मान्न नमिल्ने जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला अस्पताल र कार्यालयले निकालेको सूचना फरक भएको स्वीकार गर्छन् ।

‘हामीले पोखरास्थित कार्यालय, अस्पताल र खोजी कार्यमा संलग्नहरूले दिएको सूचनाका आधारमा ७१ शव प्राप्त भएको जानकारी सम्प्रेषण गरेका थियौं’ सिटौलाले भने,’अहिले पनि अस्पतालमा शवका टुक्रा छन् । डीएनए परीक्षणबाट बाट ती शव कसका हुन् भन्ने छुट्याउने प्रयास अस्पतालले गर्नेछ । हामी उहाँहरू संगको समन्वयमा एकिन जानकारी सम्प्रेषण गर्ने प्रयास गर्नेछौं।´

कसरी प्रशारित भयो गलत सूचना ?
प्राधिकरणका एक अधिकारीका अनुसार पोखरा विमानस्थलका कार्यालय प्रमुख बिक्रमराज गौतमले हँचुवाका आधारमा ७१ जनाको शव प्राप्त भएको गलत तथ्यांक दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरेको खोज तथा उद्धार समन्वय केन्द्रले गलत तथ्यांक प्रवाह गरेको हो ।

स्रोतका अनुसार प्राधिकरणका तर्फबाट पोखरामा फोकल पर्सन रहेका गौतमले शवका टुक्रालाई समेत एउटा शव भएको भन्दै केन्द्रमा जानकारी गराएपछि सोही आधारमा केन्द्रले ७१ शव फेला परेको जानकारी सम्प्रेण गरेको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालयले ७० जनाको मात्रै शव फेला परेको भन्दै गरेको निर्णयमा गौतलले समेत हस्ताक्षर गरेका छन् ।

त्यसपछि प्राधिकरणका केही अधिकारीले गौतमसँग ७१ जनाको शव प्राप्त भएको जानकारी दिएर ७० जनाको शव प्राप्त भयो भन्ने निर्णयमा किन हस्ताक्षर गरेको भन्दै प्रश्न गरेका थिए ।

प्रशासनले ७० जनाको शव प्राप्त भएको भन्दै निर्णयमा हस्ताक्षर गरेका गौतमले प्राधिकरणका अधिकारीसँग भने शवका टुक्रा समेत शव भएको दाबी गरेका थिए ।

शिक्षण अस्पतालले आधिकारिक रुपमा ७० शव मात्रै फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालयमा गरेपछि प्राधिकरणको खोज तथा उद्धार केन्द्रलाई ७१ जनाको शव प्राप्त भएको भन्दै जारी गरेको विज्ञप्ती सच्याउने दबाव परेको छ ।


शरद ओझा