रवि र डिपीको दोस्तीः ‘ब्राण्ड एम्बेसडर’ बनाउनेलाई मन्त्री उपहार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेको ६ महिनामा रवि लामिछाने नेतृत्वको पार्टीले संघीय संसदमा राम्रै उपस्थित जनायो । प्रत्यक्ष निर्वाचित र समानुपातिक गरेर लामिछानेको दलसँग २० सांसद रहेका छन् । आम जनताले लामिछानेको पार्टीबाट पुराना भनिएका पार्टीबाट भन्दा राम्रो काम हुने अपेक्षाको मत दिए ।

२० सिट पाएको राष्ट्रिय स्वन्त्र पार्टीबाट उपप्रधाननसहित गृह मन्त्रीमा सभापति लामिछाने गए । मन्त्रिपरिषद् विस्तार हुँदा उनको दलबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका उक्त दलका उपाध्यक्षसमेत रहेका डोलप्रसाद अर्याल मन्त्री बने । वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका अर्यालका विषयमा भने पछिल्लो समय चर्को टिकाटिप्पणी भइरहेको छ । उसो त लामिछाने स्वयं पनि नागरिकता विवादमा परेका छन् । यद्यपि उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

टेलिभिजन कार्यक्रम सञ्चालन गर्दा सरकार, विचौलीया र सरकार सञ्चालन गर्नेहरुमाथि खरो रुपमा उत्रिने गरेका लामिछानेले छानेका मन्त्री वैदेशिक रोजगार क्षेत्रमा ‘एजेन्ट’ भएको र उनलाई नै उक्त मन्त्रालयको ताला चावी बुझाएको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ ।

डोलप्रसाद अर्थात डिपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट छानिएका समानुपातिक सांसद हुन् । पार्टीका उपसभापतिसमेत रहेका उनलाई पार्टीले समानुपातिक सांसद मात्रै बनाएन, सत्ता गढबन्धनसँगको सौदाबाजीमा वैदेशिक रोजगारसँग प्रत्यक्ष सम्बन्ध राख्ने मन्त्रालयकै तालाचाबी दिइयो ।

‘श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस’ नामक म्यानपावर कम्पनीसँग संलग्न रहेका अर्याल म्यानपावर सञ्चालक रहँदा पनि विवादमा थिए । तर, अहिले मन्त्री भएपछि भने उनी संलग्न रहेको म्यानपावर कम्पनीको वेबसाइटलाई केही समय बन्द गरेर वेबसाइटबाट उनका सम्पूर्ण विवरणहरु हटाइएको छ ।

लामो समय वैदेशिक रोजगारीसम्बन्धी व्यवसाय गरेका उनी राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै लामिछानेको प्रिय पात्र बन्दै मन्त्री बनेपछि उनको पृष्ठभूमिमाथि प्रश्न उठिरहेको छ ।

म्यानपावरदेखि रेमिट्यान्स कम्पनी सञ्चालन गरिरहँदाबाट नै रविसँग निकट रहेका अर्यालले त्यहि सम्बन्धका कारण पार्टीमा उपसभापति र गठबन्धनको सरकारमा मन्त्री पदसम्म पाएको भन्दै टिप्पणी भइरहेको छ ।

अर्याल र रविको सम्बन्धः जापानमा कार्यक्रमदेखि रविका सहयोगीलाई गाडी उपहारसम्म

अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका हुन् । पार्टीको सुरुवात देखि नै उनी यससँग सम्बन्धित थिए । पार्टीमा उनको भूमिका उपसभापतिको रहेको छ ।

पार्टीका सभापति रवि लामिछाने सञ्चारकर्ममा व्यस्त रहँदाबाट नै अर्याल र उनीबीचको सम्बन्ध सुमधुर भएको देखिन्छ । हुन त लामिछानेले सञ्चारकर्ममा रहँदा वैदेशिक रोजगारीमा गएर दुःख पाएका, समस्यामा परेका धेरैको आवाज आफ्नो कार्यक्रममार्फत उठाएर चर्चा बटुलेका थिए । गत मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा उनको जितको पछाडि पनि यसले धेरथोर भूमिका खेलेको थियो ।

तर, सञ्चारकर्ममै रहँदा पनि रवि भने म्यानपावर कम्पनी सञ्चालन गरिरहेका अर्यालसँग निकट थिए । धेरथोर सामाजिक कार्यमा संलग्न रहने अर्यालले त्यो बेला मुख्य गरि जापानकेन्द्रित रहेको इजिलिंक रेमिट्यान्स सञ्चालन गरिरहेका थिए । हाल पनि सो कम्पनीको उनी सञ्चालकमा छन् । मन्त्रीको रुपमा नियुक्त भएपछि उनको यो पाटोलाई लिएर पनि टिप्पणी भइरहेको छ ।

जापानमा विभिन्न कार्यक्रम गर्ने, कार्यक्रमको प्रायोजन गर्नेदेखि रेमिट्यान्स सञ्चालन गर्नेसम्ममा अर्यालको सक्रियता थियो । यसैबीच लामिछाने र अर्यालबीचको निकटता पनि बढेको थियो ।

२०७५ असोज ५ देखि असोज १२ सम्म कोरिया र जापानका विभिन्न क्षेत्रमा रवि लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रमलाई अर्यालकै रेमिट्यान्स कम्पनी इजिलिंक रेमिट्यान्सले प्रायोजन गरेको थियो । त्यो बेला लामिछानेलाई अर्यालको रेमिट्यान्स कम्पनीको ब्राण्ड एम्बेसडर पनि बनाइएको थियो ।

‘रवि लामिछाने इजिलिंक रेमिट्यान्सको ब्राण्ड एम्बेसडर भइसक्नु भएको छ, यहाँलाई म एकदमै स्वागत गर्न चाहन्छु’, ‘मिट एण्ड ग्रिट रवि लामिछाने’ नामकको उक्त कार्यक्रमबारे गरिएको फेसबुक लाइभमा अर्यालले भनेका छन्, ‘यहाँलाई म र कार्यक्रमलाई अझ उत्कृष्ट बनाउन मेरो तर्फबाट, मेरो संस्थाको तर्फबाट र मेरो पार्टनरको तर्फबाट यहाँले गर्ने (रवि लामिछानेले गर्ने) समाजसेवामा र देश विकासको लागि र समाज निर्माणको लागि हामीले गर्न सक्ने सहयोग गर्न तयार छौं ।’

उक्त कार्यक्रमपश्चात रवि र अर्यालबीचको सम्बन्ध थप सुमधुर बनेको थियो । लामिछानेले सामाजिक कार्य गर्ने भन्दै खोलेको ‘रवि लामिछाने फाउन्डेसन’ का सूचनाहरुलाई सामाजिक सञ्जालमा सेयर गर्नेदेखि उनीसँग सम्बन्धित पोस्टहरु सेयर गर्ने कुरामा पनि अर्याल सक्रिय थिए ।

लामिछानेसँग मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालसँग पनि अर्यालको त्यो बेला नै निकटता बढेको थियो । अर्यालले लामिछानेका एक सहयोगी र टेलिभिजन कार्यक्रमका प्रोड्युसरलाई गाडी उपहारस्वरुप प्रदान गरेका थिए ।

रास्कोट अस्पताल निर्माणमा सहयोगी अर्याललाई मन्त्री पुरस्कार

२०७६ मा पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेमाथि चितवनमा छानबिन भइरहँदा अर्याल खुलेरै लामिछानेलाई निर्दोष दाबी गर्दै हिँडेका थिए । उनले रविको समर्थनमा सामाजिक सञ्जालमा लेख्नेदेखि विभिन्न रुपमा अन्तर्वार्ताहरु सेयर गर्ने गरेका थिए ।

लामिछानेको सामाजिक कार्य गर्ने संस्था रवि लामिछाने फाउन्डेसनमार्फत निर्माण गरिएको रास्कोट सामुदायिक अस्पतालका लागि फण्ड जुटाउनेमा पनि अर्याल प्रमुख व्यक्ति थिए । त्यसका लागि विभिन्न देशमा कार्यक्रम गरेका थिए । अष्ट्रेलियाका विभिन्न शहरमा लामिछानेसँग भेटघाट कार्यक्रमको आयोजना गर्नेमा पनि अर्याल प्रमुख व्यक्ति थिए ।

विभिन्न देशमा विभिन्न व्यक्तिमार्फत अभियान चलाएर संकलन गरिएको रकमलाई फरक फरक समयमा अर्याल र उनको समूहले लामिछानेको फाउन्डेसनले बनाइरहेको अस्पतालका लागि हस्तान्तरण गरेको थियो ।

२०७५ माघ १७ मा लामिछानेले नै सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर इजिलिंक रेमिट्यान्स अर्थात अर्यालकै कम्पनीले आफूले निर्माण गरिरहेको अस्पतालका लागि सहयोग जुटाइरहेको बारेमा जानकारी दिएका थिए ।

‘म इजिलिंक रेमिट्यान्सको ब्राण्ड एम्बेसडर पनि छु,’ उनले भनेका थिए, ‘तपाईंहरुले कोरियाबाट पैसा पठाउँदा कुनै अर्को माध्यमबाट नपठाउनु होला । हुन्डीको चलन पनि देखिएको छ । त्यो गैर कानुनी हुन्छ । इजिलिंकले हामीसँग सहकार्य गरेको छ । कोरियामा रहनु हुने दर्शकहरुले ह्यानपास रेमिटको मोबाइल एप्लिकेसन डाउनलोड गर्नु भयो भने तुरुन्त पैसा पठाउन सक्नुहुन्छ ।’

ह्यानपास अर्यालकै इलिजिंकअन्तर्गत कोरियामा सञ्चालनमा रहेको रेमिट्यान्स हो ।
००००
अर्याल र रविको सम्बन्ध मात्रै नभएर रवि निकटका अन्यसँग पनि अर्यालको सम्बन्ध थियो । रवि लामिछानेले सञ्चारकर्म गरिरहँदा उनका सहयोगी रहेका दिपक बोहोरा यसका उदाहरण हुन् । अहिले बोहोरा रवि लामिछाने गृहमन्त्री भएपछि उनका सचिवालयमा रहेका छन् । बोहोरालाई अर्यालले नै २०७५ कात्तिक ३० मा गाडी उपहार दिएका थिए ।

गाडीसँगै रवि र अर्यालसँगको तस्बिर राखेर यसबारे बोहोराले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मलाई पनि भित्रि आत्मादेखि माया र स्नेह गर्ने दाइहरु छन् । डिपी अर्याल दाई, जसले आफ्नो जीवनको पहिलो यति राम्रो गाडी दिनुभयो । धेरै धेरै धन्यवाद दाई ।’

गाडी उपहारमा दिइएको विषयमा त्यो बेला विभिन्न सञ्चारमाध्यममा चर्चा भएको थियो । यसबारे पछि अर्यालले सामाजिक सञ्जालमार्फत नै स्पष्टिकरण समेत लेखेका थिए ।

‘केही अनलाइनहरु र व्यक्तिले म र मेरो कम्पनीको नाम लिई तथाकथित मनगणन्ते समाचार छापेकोमा म र मेरो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ,’ अर्यालले लेखेका थिए, ‘जहासम्म गाडी उपहार दिएको कुरा छ, हो मैले मेरो प्यारो भाइलाई मेरो जीवनको पहिलो गाडी उपहार दिएकै हो । यहाँलाई पनि सुझाब र उपहार दिन चाहन्छु समय लिएर मलाई भेट्न आउनुभएमा । सबै मान्छे कुनै न कुनै पेसामा आबद्द भएकै हुन्छ त्यो भन्दा अगाडी उ कसैको साथि, आफन्त, नाता गोता हुन्छ । यहाँलाई यो पनि थाहा हुनुपर्ने हो त्यसपछी हुने लिनु र दिनु लाई भ्रष्टाचार र अपराधमा जोड्नु कति सान्दर्भिक कुरा हो ?’

आरोप पुष्टि भए कारबाही ?
टेलिभिजन कार्यक्रममा धेरै जना उपप्रधानमन्त्री बनाएको भन्दै लामिछानेले ‘म्यारिज खेल्न’का लागि हो भन्दै आक्रोशपूर्ण प्रश्न उठाएका थिए । तर, उनी अहिले आफैं वर्तमान सरकारका ४ मध्येका १ उपप्रधानमन्त्री रहेका छन् ।

विचौलीया र दलालहरुलाई नै मन्त्री बनाएको भन्दै आलोचना गर्दै आएका लामिछानेले नै वैदेशिक रोजगारीसँग सम्बन्धित काममा सक्रिय अर्याललाई त्यही मन्त्रालयको जिम्मा दिएका छन् ।

लामिछानेले अर्यालमाथिको आरोप पुष्टि भए पहिलो कारबाही आफैंबाट सुरु गर्ने बताएका छन् ।

कतिपय लामिछानेका समर्थकले भने वैदेशिक रोजगारी क्षेत्रका जानकार व्यक्तिलाई नै सोही सम्बन्धी मन्त्रालयको जिम्मेवारी दिने कमदको वचाउ गरिरहेका छन् । त्यसोत वर्तमान मन्त्रिमण्डलमा भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका व्यक्तिलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे ठेकेदार कम्पनी ‘कालिका ग्रूप’ का मालिक हुन् । सिक्टा सिंचाइ आयोजनाको ठेक्का पाएको पाण्डेको कम्पनीले भ्रष्टाचार गरेको आरोप छ ।

अहिले अन्य दलबाट मन्त्री भएकाहरु भन्दा पनि नयाँ दलबाट मन्त्री भएकाहरुमाथि आम मानिसको नजर परिरहेको छ । आगमी दिनमा विभिन्न आलोचना र टिप्परणीका बीच लामिछाने नेतृत्वको पार्टी र त्यसबाट प्रतिनिधित्व गर्दै मन्त्री भएकाहरुमाथि भने चुनौती थपिएको छ।


क्लिकमान्डु