बजेट बनाउने कर्मचारीको भत्ता ५०% ले कटौती, बोतल हटाएर जारको पानी पिउन अर्थको सर्कुलर



काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणमा संलग्न कर्मचारीको भत्ता ५० प्रतिशतले घटाउने भएको छ । विगतमा बजेट बनाउँदा बिहान र बेलुका काम गर्ने कर्मचारीलाई दैनिक ६ सय रुपैयाँ भत्ता दिने गरिएको थियो ।

अर्थ मन्त्रालयले बनाएको चालू खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९ मा आगामी आर्थिक वर्षमा बजेट निर्माणमा संलग्न कर्मचारीलाई अतिरिक्त भत्ता नदिने र दिनै पर्ने अवस्था आए दैनिक ३०० रुपैयाँ मात्रै दिने उल्लेख छ ।

अर्थ सचिव तोयम रायाले पुस २६ गते स्वीकृत गरेको खर्च घटाउने सम्बन्धी मापदण्ड कार्यान्वयका लागि आर्थिक प्रशासन शाखाले अर्थ मन्त्रालयका बिभिन्न महाशाखालाई पत्राचार गरिएको छ ।

चालू आर्थिक वर्षको बजेटमा १५ प्रतिशत चालू खर्च घटाउने घोषणाअनुसार अर्थ मन्त्रालयले चालू खर्च घटाउने सम्बन्धी मापदण्ड बनाएको हो ।

मन्त्रालयले विभिन्न १७ क्षेत्रमा चालू खर्च घटाउन मन्त्रालय मातहतका विभिन्न निकाय, विभाग र महाशाखालाई सर्कुलर गरेको छ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं ३७० मा सरकारी निकायको चालू प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ भन्ने व्यवस्था उल्लेख भएकोले उक्त बुँदालाई कार्यन्वयन गर्न मन्त्रालयले मापदण्ड बनाएको जनाएको छ ।

मन्त्रालयले हाल भइरहेको ९ करोड ५७ लाख १६ हजार रुपैयाँ चालू खर्च मध्ये १५ प्रतिशत रकम खर्च घटाउने गरी मापदण्ड बनाएको छ । मन्त्रालयले बनाएको मापदण्ड अनुसार खर्च कटौती हुँदा अर्थ मन्त्रालयको कुल खर्च १ करोड ४३ लाख ५७ हजार ४०० रुपैयाँ कम हुनेछ ।

‘अर्थ मन्त्रालयले १ करोड ४३ लाख रुपैयाँ चालू खर्च घटायो भने प्रणालीमा ठूलो रकम बचत हुने होइन,’ मन्त्रालयका एक अधिकारी भन्छन्,‘कर्मचारीले प्रयोग गर्ने पानी, पेन्सीलको खर्च घटाएर १५ प्रतिशत खर्च कटौती गरिएको सन्देश दिने प्रयास गरिन्छ । यस्ता निर्णयले ठूलो खर्च कटौति गर्ने भन्दा पनि कर्मचारीको उत्प्रेरणामा मात्र कमी ल्याउँछ ।’

मन्त्रालयले अतिआवश्यक बाहेकका सेमिनार, तालिम, गोष्टी नगर्ने र गर्ने पर्ने भए सरकारी मापदण्ड भन्दा बढी लागत स्टीमेट स्वीकृत नगर्न र यस्ता कार्यक्रम गर्दा मन्त्रालयका सभा कक्ष वा अन्य सरकारी निकायका भवनहरु प्रयोग गर्ने मातहतका निकायलाई निर्देशन दिइएको छ ।

हाल मन्त्रालयले यस्ता कार्यक्रम गर्न २ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको भए पनि स्वीकृत कार्यक्रमहरु पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगन गर्न महाशाखालाई निर्देशन दिइएको छ ।

बैठक तथा अतिथि सत्कार छुट्टाइएको १ करोड १५ लाख १० हजार रुपैयाँ मितव्ययी तरिकाले खर्च गर्ने गरी मन्त्रालयले मापदण्ड बनाएको छ ।

अति आवश्यक विना एसी हिटर, पंखाको प्रयोग नगर्न समेत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिइएको छ । मन्त्रालयले विद्युतको बिल तिर्न ६५ लाख ५२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

अति आवश्यक बाहेकका स्वदेश तथा वैदेशिक भ्रमणको योजना बनाउने निरुत्साहित गर्ने मापदण्डमा उल्लेख छ । मन्त्रालयले भ्रमण भत्ता दिने प्रयोजनलाई छुट्याइएको ५३ लाख ५० हजार रुपैयाँ मितव्ययी भएर खर्च गर्ने जनाएको छ ।

दुई पांग्रे तथा चार पांग्रे सवारी साधन सर्विसिङ्ग गर्दा आवश्यक भएमा मात्र मोविल तथा लुब्रिक्यान्ट फेर्ने मापदण्डमा उल्लेख छ । मन्त्रालयले सवारी साधन मर्मत गर्न ३० लाख २४ हजार रुपैयाँ विनियोजन गरेको छ ।

बोतलको पानीलाई निरुत्साहन गरी जारको पानी प्रयोग गर्दै ३ लाख ६० हजार रुपैयाँ मितव्ययी तरिकाले खर्च गर्ने मापदण्डमा उल्लेख छ ।

कार्यालयमा प्रयोग हुने टोनर र कार्टिजलाई मिलेसम्म रिफिल गरेर काम चलाउन मन्त्रालयले निर्देशन दिएको छ ।

अति आवश्यक देखि बाहेक थोरै र पटकेको रुपमा प्रयोग हुने सामान धेरै स्टक नराखि १ करोड २३ लाख रुपैयाँ खर्च गर्दा ध्यान दिनु पर्ने मापदण्डमा उल्लेख छ ।

अनावाश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहित गर्ने र कार्यालयमा प्रयोग भएका पर्दा, कार्पोटिङ्ग तथा फर्नीसिङका सामाग्री नयाँ सामाग्री खरिद नगर्ने मन्त्रालयको योजना छ ।

स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार र ज्यालादारीमा कामकाजमा कर्मचारी नियुक्त नगर्ने मापदण्डमा उल्लेख छ ।

मन्त्रालयको विद्यमान जनशक्तिबाट सम्पादन हुन सक्ने कामको लागि बाह्य परामर्श सेवा खरिद नगर्ने र मन्त्रालयका बैठकहरु कार्यालय समयभित्र गर्दै भत्तामा हुने खर्च घटाउने मापदण्डमा उल्लेख छ ।

पत्रिका खरिदको सदस्यता नलिने तथा नविकरण गर्दा समेत न्यूनतम संख्यामा गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य र पुस्तक तथा पर्चाहरुलाई छाप्न निरुत्साहन गरी वेवसाइटमा राख्दै खर्च घटाउने मन्त्रालयको योजना छ ।


क्लिकमान्डु