दुर्घटनामा पर्न लागेको अर्थतन्त्रको जहाजलाई रनवेमा ल्याउने प्रयत्न भइरहेको छ: युवराज खतिवडा



काठमाडौ‌‌ । पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको बताएका छन् । सुरक्षित अवतरण गर्न खोज्दा खोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनु पर्ने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्र:अबको बाटो’ कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका पूर्वगभर्नर खतिवडाले रनवेबाट बाहिर गएको जहाजलाई राष्ट्र बैंकले सही ठाउँमा ल्याउन प्रयत्न गरिरहेको बताए ।

‘नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको थियो । सुरक्षित अवतरण गर्न खोज्दा खोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनु पर्छ । राष्ट्र बैंकले एकातिरबाट तान्यो त्यही पनि असन्तुलन भइरहेको छ’, उनले भने, ‘रनवेमा ल्याइसकेपछि अनि टेकअफ गर्नुपर्ने कुरा आउँछ । टेकअफ गर्ने कुरामा हेड विङ विश्वको अर्थतन्त्र कता गइरहेको छ लगायतका कुराले हेड विङलाई त्यति धेरै समस्या छैन । त्यसलाई मैले त्यति ठूलो मानेको छैन ।’

दुई/तीनवटा फ्याकटरहरु सही हुँदा नेपालको अर्थतन्त्र सही गति र दिशामा उड्ने उनको भनाइ छ । ‘अहिले रनवे ट्रयाक छाडेपछि हामी जिरो स्पीडमा रहेका छौं लगभग । तर यसलाई गति दिन सकिन्छ ।’

उनले हरेक क्षेत्रमा थप लगानी ल्याउनुभन्दा तत्कालीन क्षमता बढाउने योजना आवश्यक रहेको बताए । उनले ब्याजदर घटेर केही नहुने भन्दै नेपाललाई रोजगारी आवश्कय रहेको बताए ।

ब्याज घटेपनि एकल अंकमा निक्षेपको ब्याज र कर्जाको ब्याज सबैभन्दा कम दोहोरो अंकमा कर्जाको ब्याज आवश्यक रहेको उनले बताए । तर कर्जाको ब्याज आज नै एकल अंकका नआउने उनको भनाइ छ ।

पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढिरहेको खतिवडाले बताए । चालू पुँजी कर्जा लिने र स्थीर पुँजीमा लगानी गर्दा समस्या आएको उनले बताए ।


क्लिकमान्डु