अजोड र यूनाइटेड इन्स्योरेन्सलाई मर्जरमा जान बीमा प्राधिकरणको सैद्धान्तिक सहमति



काठमाडौं । अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सले मर्जरमा जाने सैद्धान्तिक सहमति पाएका छन् ।

मर्जरमा जाने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका यी कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले पुस २९ गते सैद्धान्तिक सहमति दिएको हो ।

प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम अजोड र यूनाइटेडलाई एक आपसमा गाभ्न र गाभिने (मर्जर) प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो ।

प्रभुसँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग पुस २६ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

प्रभु र अजोड इन्स्योरेन्सलाई मर्जर प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिएपश्चात अजोडले युनाइटेडसँग मर्जर सम्झौता गरेकोे थियो ।

उक्त सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले हस्ताक्षर गरेका थिए ।

मर्जर पश्चात युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको छ । यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

प्रभु र अजोड इन्स्योरेन्सबीच स्वाप रेसियो, नाम र संचालकको बिषयमा सहमति हुन नसक्दा मर्जर तोडिएको थियो ।


क्लिकमान्डु