परिसंघ र बैंकर्स संघको अध्यक्षमा एउटै बैंकको नेतृत्व !



काठमाडौं । नेपाल बैंकर्स संघ (एनबिए) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) एनएमबि बैंकको नेतृत्वमा आएको छ।

आइतबार भएको सिबिफिनको साधारणसभाले पवन गोल्यानलाई नै अध्यक्षमा निरन्तरता दिएको थियो । गोल्यान एनएमबि बैंकका अध्यक्ष हुन् ।

त्यस्तै, एनएमबि बैंकका सीइओ सुनिल केसी बुधबार भएको विशेष अधिवेशनबाट बैंकर्स संघको अध्यक्ष निर्वाचित भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ बैंकका सञ्चालकहरुको छाता संगठन हो भने नेपाल बैंकर्स संघ वाणिज्य बैंकका सीइओहरुको संगठन हो ।

रमाइलो त के छ भने दुबै छाता संगठनको अध्यक्ष एनएमबि बैंकले लिएको छ ।

कतिपय सन्दर्भमा परिसंघ र बैंकर्स संघका समान मत हुन्छ भने कतिपय अबस्थामा फरक मत हुन्छन् । यस्तो अवस्थामा ती दुई संस्थाका अध्यक्ष एउटै बैंकको सीइओ र अध्यक्ष हुँदा भावी दिनमा काम गर्न कठिनाइ हुनसक्ने तर्क दुबै संस्थामा उठ्न थालेका छन् ।

‘सञ्चालक र सीइओको संस्थामा एउटै बैंकका अध्यक्ष र सीइओले नेतृत्व गर्दा बजारले हामीलाई के भन्ला ?’ एक बैंकरले प्रश्न गरे, ‘समन्वय गर्ने मामिलामा त सहजै होला तर मत फरक भएको अवस्थामा भने को हाबी हुने भन्ने चिन्ताको विषय हो ।’

तर, बैंकर्स संघले प्राविधिकरुपमा राष्ट्र बैंकसँग केन्द्रित रहेर डिल गर्ने अनि परिसंघले अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा अन्य राजनीतिक नेतृत्वसँग डिल गर्ने अबधारणा भएकाले एकै संस्थामा आवद्ध व्यक्ति दुई संस्थाको अध्यक्ष बन्दा खासै फरक नपर्ने केही बैंकरको बुझाइ छ ।


क्लिकमान्डु