इन्भेष्टेन्ट र मेगा बैंक मर्जरपछि यी हुन् नयाँ सञ्चालक, कुनबाट कति ?



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भइ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार शुरु गरेका छन् ।

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ काठमाडौंमा आज आयोजित कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भको घोषणा गरेका थिए ।

दुई बैंकबीच शेयर स्वाप अनुपात १००:९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् ।

त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेकी मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने छन् ।

बैकिङ्ग क्षेत्रमा अग्रणी बैंकहरु एक आपसमा गाभिए पश्चात देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तीय सूचकहरुमा अग्रता हासिल गर्न सक्षम हुनेछ अध्यक्ष पाँडेको भनाइ छ ।

यसका साथै उनले यो मर्जरले वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको बताए ।

यसैगरी, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ्ग क्षेत्र र अर्थतन्त्रका लागि सुखद् र सकारात्मक कदम भएको बताए ।

मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी ३४.१२ अर्ब रुपैयाँ, कुल पूँजी ५८ अर्ब रुपैयाँ भन्दा बढी र कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ, त्यसैगरी कुल निक्षेप ३६०.२ अर्ब तथा कर्जा लगानी ३२९.०६ अर्ब रुपैयाँ गरी कुल ३० लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक अग्रणी बैंक बनेको छ ।

त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ्ग सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको बैंकले जनाएको छ ।


क्लिकमान्डु