भैरहवाका उद्योगमा दैनिक ९ घन्टा लोडसेडिङ !



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भैरहवाका उद्योगहरुमा लोडसेडिङ शुरु गरेको छ । प्राधिकरणका अधिकारीहरुले उद्योगीहरुलाई फोन गरेर बिहान र बेलुका गरेर दैनिक ९ घन्टा बिजुली दिन नसक्ने जानकारी गराएका हुन् ।

लोडसेडिंग अन्त्य भएको घोषणा गरेको सरकारले सार्वजनिकरुपमा कार्यतालिका ननिकाले पनि उद्योगीहरुलाई फोन गरेर विद्युत् कटौति गरेको जानकारी गराएको हो ।

भैरहवाका उद्योगीहरुका अनुसार प्राधिकरणले बिहान ७ देखि ११ र बेलुका ५ देखि १० बजेसम्म लाइन प्रयोग नगर्न मंगलबार बिहानै फोन गरेर भनेका छन् । र, सोही अनुसार लाइन पनि काटेका छन् ।

प्राधिकरणका कर्मचारीहरुले आगामी दुई महिनासम्म उद्योगमा लोडसेडिङको सामना गर्नुपर्ने बताएका छन् ।

वितेका महिनाहरुमा ठप्प जस्तै भएको औद्योगिक उत्पादन मंसिर लागेपछि केही बढेको थियो । जसअनुसार उद्योगहरुले आफ्नो उत्पादन पनि बढाउन थालेका थिए ।

तर, प्राधिकरणले ९ घन्टा लोडसेडिङ गरेर अब त तंग्रिएला कि भन्ने आशालाई निराशामा परिणत गराएको ती उद्योगीको भनाइ छ । उद्योगीहरुले प्राधिकरणसँग लोडसेडिङको तालिका उपलब्ध गराउन माग गरे पनि प्राधिकरणले तालिका भने उपलब्ध गराएको छैन ।


क्लिकमान्डु