प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार आजदेखि, चुक्ता पुँजी २३ अर्ब बढी, अन्य सूचक कति ?



काठमाडौं । प्रभु र सेन्चुरी कमर्सियल बैंक मर्जर भएर आजदेखि ‘प्रभु बैंक’ को नाममा एकीकृत कारोबार हुने छ ।

दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरिसकेको छ । त्यस अनुसार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालयले मर्जरका लागि दुवै बैंकलाई अन्तिम स्वीकृति दिएका छन् ।

पुस १७ गते दुवै बैंकलाई राष्ट्र बैंकले मर्जरलाई स्वीकृति समेत दिइसकेको छ ।

बैंकका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयले सेन्चुरीको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ ।

मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा मनोज न्यौपाने हुनेछन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने छन् ।

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।


क्लिकमान्डु