ब्रोकरको कमिसन घटाउनेभन्दा पनि यसमा वैज्ञानिक अध्ययन हुनुपर्छ



स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् । शनिबारसम्पन्न साधारण सभाले सापकोटालाई निर्वाचित गरेको हो । उनै सापकोटासँग क्लिकमाण्डूका लागि सोभित थपलियाले नवनिर्वाचित टिमले गर्ने कार्य, बजार विकासको योजना, नयाँ ब्रोकर, ब्रोकर कमिसन घटाउने लगायतका विषयमा गरेको कुराकानी:

साधारणसभाबाट अध्यक्षमा निर्वाचित हुनु भएको छ,नेपालको पुँजी बजार विकास तथा विस्तारका लागि के गर्ने योजना बनाउनु भएको छ ?

बजारको विकास, विस्तार गर्नु सबैको सधैको काम हो । हामीले बजार विकास र विस्तारका लागि, काम गर्ने, व्यवसाय सुधार तथा प्रबर्धनका लागि काम गर्ने हो । टिएमएस, व्यवसायी क्षमता, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने काम गर्नेछौं । क्यापिटल मार्केट इन्स्टीच्युट स्थापना गर्ने काम अघि बढेको छ । त्यसलाई पूर्णता दिनुपर्ने छ । यसका लागि कतिपय काम शुरु भइसकेको छ भने कतिपय काम शुरु गर्नुपर्ने छ । काम गर्दा सबैखाले चुनौती रहन्छन् । अहिले भएका चूनौतीलाई न्यून गर्दै जाने र भविश्यमा आउने चूनौतीलाई छलफल, विभिन्न निकायसँग सहकार्य गरेर अघि बढ्ने छौं । समग्रमा धितोपत्र ब्रोकर, लगानीकर्ता लगायतको हितमा काम गर्ने र्छौं ।

ब्रोकर कम्पनी, लगानीकर्ताले समय समयमा नियामक निकायले प्रवाह गर्ने सेवाका विषयमा प्रश्न गरिरहेका हुन्छन् । आगामी दिनमा यस्ता सेवा प्रभावकारी बनाउन कस्तो पहल गर्नुहुन्छ ?

हामी नियामक निकायबाट अनुमति लिएर सञ्चालनमा छौं । हामी कानून, नीति नियमभित्र रहेर काम गर्छौं । काम गर्ने सन्दर्भमा नियामकबाट आएका निर्देशनलाई पालना गर्दै जाने छौं । पुँजी बजारको विकास र विस्तारका लागि धितोपत्र बजार सञ्चालकको तर्फबाट गर्नुपर्ने कामका विषयमा नियामक निकायसँग समन्वय हुने नै छ ।

सबै मिलेर जाने हो भने बजारका देखिएका समस्या समाधान हुनेछन् भने बजारको विकासमा सहयोग हुनेछ । नियामक निकायले दिने निर्देशन पालना गरेर अघि बढिनेछ । बजार विकासका लागि हामीले काम गरिरहेका छौं अब पनि गर्ने नै छौ । काम गर्दा ढिलो चाँडो हुनेनै गर्छ । समग्रमा बजारको विकासमा काम गर्न आवश्यक छ । त्यसमा सबैको प्रभावकारी पहल कदमी हुनु आवश्यक छ ।

नेपालको पुँजी बजारको दायरा सानो भयो, अन्तर्राष्ट्रिय अभ्यासअनुसार ब्रोकर कम्पनी र समग्र पुँजी बजार अघि बढ्न सकेन भन्ने गुनासो छ, ती माग कसरी सम्बोधन गर्नुहुन्छ ?

अन्तर्राष्ट्रिय बजारमा अभ्यास भइरहेका धेरै विषय नेपालको पुँजी बजारमा आउन बाँकी छ । अहिले नेपालमा पुँजी बजार भनिए पनि सेयरको कारोबार मात्रै भइरहेको छ । अन्य काम भएका छैनन् । बजारमा अन्य प्रोडक्ट न्यून छन् । हामीले धेरै प्रडक्ट ल्याउन आवश्यक छ । कतिपय त ढिलाइ भइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा आएका सुविधाहरु नेपालको बजारमा ल्याउनै पर्छ । केही प्रडक्टहरु नेपाली बजारमा ल्याउन ढिला भएको छ भने केही ल्याउनै पर्ने अवस्थामा छन् । कतिपय विषयमा हामी निकै पछि परेका छौं । विदेशमा अभ्यासमा भएका राम्रा र नेपाली बजार सुहाउने विषय हामीले ल्याउनै पर्छ । यो हाम्रो पुरानो एजेन्डा पनि हो । हामीले यसमा काम गर्नेर्छौं ।

पछिल्लो समय सेयर लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउनु पर्छ भन्ने माग उठाउन थालेका छन्, अहिलेको अवस्थामा यो कत्तिको आवश्यक छ ?

हामीले पुँजी बजारको विकास र विस्तारको कुरा गरिरहँदा आवश्यक भौतिक पूर्वाधारमा खासै ध्यान दिन सकेका छैनौं । बजारको विकासका लागि हामीले ठूलो लगानी प्रविधिमा गर्नुपर्ने समय आएको छ ।

हामीले कमिसनको कुरा गर्दा लागतको कुरा बिर्सनु हुँदैन । हामीले अहिले ब्रोकरको कमिसन घट्नुपर्छ की बढ्नु पर्छ भनेर भनिहाल्नुभन्दा पनि कमिसनको दर कति उचित हुन्छ वैज्ञानिक रुपमा अध्ययन गरेर निर्धारण गर्नुपर्छ । अहिले नै यति हुनुपर्छ भनिहाल्नु भन्दा पनि पहिला यसको वैज्ञानिक अध्ययन आवश्यक छ ।

लगानीकर्ताले मार्जिन ट्रेडिङ प्रभावकारी रुपमा कहिलेबाट कार्यान्वयन गर्न पाउलान् ?

मार्जिन ट्रेडिङलाई समय सापेक्ष रुपमा कार्यान्वयमा लैजान हामीले सुरुदेखि नै भूमिका खेल्दै आएका छौं र त्यो काम आगामी दिनमा पनि निरन्तर रहनेछ । बजारको आवश्यकता अनुसार केही विषय परिमार्जन गरेर जानुपर्ने विषय रहेका छन् ।

लगानीकर्ताले सहजै प्रयोग गर्ने खालको बनाउनका लागि हामीले केही सुझाव पनि नियामकलाई दिएका छौं । यसलाई बजारको आवश्यकता अनुसार समय सापेक्ष नबनाइ हुँदैन । त्यसका लागि हामीले औपचारिक/अनौपचारीक रुपमा सुझाव दिएका छौं ।

बैंकका सहायक कम्पनी तथा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रकृया अघि बढेको छ । बजारमा थप कति ब्रोकर आवश्यक पर्ला ?

नयाँ ब्रोकर थप्ने विषयमा सुरुदेखि नै एसोसिएसनको धारणा एकै छ । बजारमा पहुँच विस्तार गर्नुपर्छ भन्ने सबैको मान्यता छ । अहिले कस्तो खालको पहुँच विस्तार हुनुपर्ने हो भन्ने विषयमा अध्ययन आवश्यक छ । पहुँच विस्तारको विभिन्न माध्यम हुन सक्छन् । २०६४ सालदेखि कार्यान्वयनमा आएको आधिकारिक प्रतिनिधिको व्यवस्था कार्यान्वयमा आएको छैन ।

त्यसलाई कार्यान्वयन गर्ने हो भने बजारको पहुँच सहजै हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासमा रहेको सब ब्रोकरको अवधारणाबाट पनि बजारको पहुँच विस्तार हुनसक्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

सामान्य काम गरेर नै बजारको विस्तार गर्न सकिने माध्यम छन् । ती विकल्पमा छलफल नगरी, त्यसलाई प्रयोगमा नल्याइ त्योभन्दा जटिल विषयमा, अध्ययन गरेर मात्रै काम गर्नुपर्ने विषयमा नियामक निकाय लागेको छ ।

हाम्रो भनाइ बजार विस्तारमा हाल भएका विकल्पलाई पहिला प्रयोग गरौं भन्ने नै हो । यसमा गहन अध्ययन गर्न आवश्यक छ । अहिले विद्युतीय माध्यमबाट पनि कारोबार हुने गरेको छ ।

अहिले धेरै काम घरबाट नै हुने गरेको छ । त्यसलाई पनि हेर्न आवश्यक छ । अनलाइन सिस्टममा गइसकेका कारण अधिकारीक प्रतिनिधि राखेर काम गर्ने हो भने धेरै सहज हुने थियो ।

२०६४ सालमा परिकल्पना गरेको अधिकारीक प्रतिनिधिलाई मान्यता दिनुपर्ने हाम्रो मान्यता रहेको छ । सबै काम डिजिटल रुपमा भएको समयमा आधिकारीक प्रतिनिधि हुने हो भने त्यसले नियमनमा पनि सजिलो हुने देखिन्छ । यसले थोरै लगानीबाट धेरै प्रतिफल लिन सकिन्छ ।

अहिले ब्रोकरहरुले सेयर खरिद बिक्रीको काम मात्रै गर्ने गरेका छन् । लगानीकर्ताको लागि अन्य काम भएका छैनन् । अहिले त लगानीकर्ताले टिएमएसको माध्यमबाट आफै सेयर खरिद बिक्री गर्न सक्ने व्यवस्था रहेको छ ।

रकम हस्तान्तरण पनि करिब डिजिटल रुपमा हुन थालेको छ । प्रविधिको प्रयोगलाई झनै बढी प्रयोगमा ल्याउन आवश्यक छ । अनलाइनले धेरै काम सहज भएको बेलामा नयाँ ब्रोकरभन्दा पनि आधिकारीक प्रतिनिधि नै उत्तम बिकल्प हो ।

यो विकल्प प्रयोग गर्दा कुनै समस्या भयो भने नीतिगत रुपमा समाधान गर्न सकिन्छ । यो विकल्पले काम नै गरेन भने त्यसको विषयमा पछि सोच्न सकिन्छ । भएको विकल्पमा ध्यान नै नदिइ अन्यत्र लाग्नु उपयुक्त हुँदैन ।


क्लिकमान्डु