अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्छ : मल्ल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन् ।

राजस्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताएका हुन् ।

तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले भने, ‘उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धन, औद्योगिक लगानी मार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’

पछिल्लो समय राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको अध्यक्ष मल्लले बताए । लक्ष्यअनुसार राजस्व संकलन नहुँदा चालु खर्च धान्न पनि सरकारलाई मुस्किल परिरहेको मल्लको भनाइ छ ।

भन्सार राजस्व प्रभावकारी नहुँदा पनि राजस्व लक्ष्यअनुसार उठ्न नसकेको अध्यक्ष मल्लले बताए ।

भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । नेपाल भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले सीमा व्यवस्थापन हुने वित्तिकै कम्तिमा ४० प्रतिशत राजस्व वृद्धि हुने बताए ।

आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्नका लागि सरकारसंग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताए ।


क्लिकमान्डु