सेयर बजार चमक, लगानीकर्ता भन्छन्- बैंकले फोन गरेर ऋण दिन थाले



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा दोहोरो अंकको सुधार आएको छ ।

बजार मापन गर्ने सूचक १८.०९ अंकले बढेर परिसूचक २१४३.७६ बिन्दुमा रोकिएको छ । लामो समयदेखि गिरावट आएको बजारमा पछिल्लो दुई साता यता सुधार देखिएको छ ।

प्रचण्ड नेतृत्वको सरकार र अर्थमन्त्रीले बजार सुधारको नीति सरकारले लिने भन्ने अभिव्यक्ति दिएलगत्तै बजारमा सुधार देखिएको छ । लामो समय लगानी योग्य रकम (तरलता) अभाव झेलिरहेको बजारमा पछिल्लो समय कतिपय ऋणीहरुलाई बैंकहरुले नै बोलाएर कर्जा दिने गरेको लगानीकर्ताको भनाइ छ ।

नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार केही समय यता राम्रोसँग ब्याज तिर्ने ऋणीलाई बैंकहरुले फोन गरेर नै कर्जा दिने गरेको बताँछन् । ‘समयमा सावा ब्याज भुक्तानी गर्नेलाई बजारमा लगानी गर्न पैसाको अभाव छैन’ रौनियारले भने ‘केही दिन यता बैंकहरुले फोन गरेर नै कर्जा लिन बोलाउन थालेका छन् ।’

नयाँ सरकार बनेको, सरकारको पहिलो निर्णय पुँजी बजारको सुधारको भएको र अहिलेका उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल बजारको बारेमा सधै सकारात्मक हुने, अघिल्लो कार्यकालमा बजारले नयाँ रेकर्ड राखेका कारण उनीप्रति लगानीकर्ता आशावादी भएका कारण पनि बजार बढेको रौनियारको भनाइ छ । बजार यसैगरि अघिबढे एक वर्षभित्र बजारले ३१९८ र कारोबार रकम २२ अर्बको रेकर्ड तोड्ने रौनियारको दाबी छ ।

बिहीबार २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९२८ कित्ता सेयर ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको ४.७४, अन्य समूहको उपसूचक १३.७४ अंकले घटेको छ भने विकास बैंक ३.५६, वित्त कम्पनी ५०.२०, होटल तथा पर्यटन १७८.२३, जलविद्युत ४२.२६, जीवन बीमा १३४.७६, उत्पादन तथा प्रशोधन १६४.११, माइक्रोफाइनान्स समूहको उपसूचक ६४.४४ अंकले बढेको छ ।

कारोबारमा आधा दर्जन कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, बुद्धभुमी नेपाल हाईड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सृजनशिल लघुवित्त, बाराही हाईड्रोपावर, हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रीलरी कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ४३ करोड १९ लाख ६६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी र हिमाल दोलखा हाईड्रोपावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु