९ दिनभित्र गर्दैछन् दर्जन बैंकले साधारणसभा, कुनको कहिले ?



काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये १२ वटा बैंकले ९ दिनभित्र साधारण सभा बोलाएका छन् । सभा बोलाएका बैंकहरुले बुक क्लोजको मिति समेत तय गरेका छन् । पुस २५ गते २ वटा बैंकले साधारणसभा बोलाएका छन् । २५ गते एनएमबि बैंक र नेपाल एसबिआई बैंकले सभा बोलाएका छन् ।

यस्तै २८ गते ६ वटा बैंकले साधारण सभा बोलाएका छन् । २८ गते लक्ष्मी बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, सिभिल बैंक र सिद्धार्थ बैंकले सभा बोलाएका छन् ।

यस्तै पुस २९ गते ४ वटा बैंकले सभा बोलाएका छन् । उक्त दिन नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक र माछापुच्छ्रे बैंकले सभा बोलाएका छन् ।

सभा बोलाएका बैंकमध्ये केहीले सेयरधनीको हात खाली बनाएका छन् । अधिकांशले भने सेयरधनीलाई बोनस तथा नगद लाभांश दिने भएका छन् । सेयरधनीको हाल खाली बनाउने बैंकमा एनआईसी एशिया, लक्ष्मी र माछापुच्छ्रे बैंक रहेका छन् ।

एनएमबि बैंकले २७ औं सभा पुस २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजाने भएको छ । सभाका लागि भन्दै पुस ११ गते बुक क्लोज गरेको छ ।

नेपाल एसबिआई बैंकले २९औं साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा पुस २५ गतेका लागि बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले पुस १३ गते बुक क्लोज गरेको छ । १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

सेयरधनीको हात खाली बनाएको लक्ष्मी बैंकले २२ औं सभा अग्रवाल भवन, कमलपोखरी पुस २८ गते बोलाएको छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग गाभ्ने-गाभिने प्रस्ताव गरेको छ । सभाका लागि बुक क्लोज पुस १५ गते गरिसकेको छ ।

यस्तै प्राइम कमर्शियल बैंक १५औं सभा पुस २८ गतेका लागि बोलाएको छ । बैंकले सभामा आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद लाभांश दिने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने प्रस्ताव लैजाने भएको छ । बैंकले सभाका लागि पुस १४ गते बुक क्लोज गरेको छ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै तोकेका लाभांश पाउनेछन् ।

राष्ट्रिय वाणिज्य बैंकले पुस २८ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यसका लागि पुस १८ गते बुक क्लोज गरेको छ ।

हिमालयन बैंकले ३०औं सभा होटल सोल्टीमा पुस २८ गते बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश दिने, सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव गरेको छ । सभाका लागि बुक क्लोज पुस १८ देखि २८ गतेसम्म गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

सिभिल बैंक १२औं सभा अमृतभोग, कालिकास्थानमा पुस २८ गते हुने भएको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने र हिमालयन बैंकले प्राप्ति गर्ने प्रस्ताव लैजाने भएको छ । बैकले पुस १९ गतेका लागि बुक क्लोज गरेको छ । १८ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

सिद्धार्थ बैंकले २१ औं सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश दिने र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव रहेको छ । सभाका लागि बैंकले पुस १३ गते बुक क्लोज गरेको छ । १२ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

नबिल बैंकले ३८औं सभा सिल्भर ओक व्याक्वेटमा पुस २९ गतेका लागि बोलाएको छ । बैंकले सभामा आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १८.५० प्रतिशत बोनस शेयर र ११.५० प्रतिशत नगद लाभांश, अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग गाभ्ने-गाभिने प्रस्तावमा छलफल गर्ने छ । बैंकले सभाका लागि पुस १८ गते बुक क्लोज गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

लगानीकर्ताको हात खाली बनाएको एनआईसी एशिया बैंकले २५औं सभा बोलाएको छ । बैंकले सभामा लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव गरेको छ । यस्तै सभाका लागि बैंकले पुस १८ देखि २९ गतेसम्म बुक क्लोज गरेको छ ।

नेपाल बैंकले ६२औं सभा बैंकको प्रधान कार्यालय काठमाडौंमा पुस २९ गतका लागि बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाका लागि पुस १४ गते बुक क्लोज गरेको छ । १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिने पाउनेछन् ।

लगानीकर्ताको हात खाली बनाएको माछापुच्छ्रे बैंकले २४औं सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा पुुस २९ गतेका लागि बोलाएको छ । बैंकले सभामा लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने प्रस्ताव लैजाने भएको छ । बैंकले पुस १७ गते बुक क्लोज गरेको छ ।


क्लिकमान्डु