
काठमाडौं । सरकारले हाल चलिरहेका साझा यातायातलाई नै रुपान्तरण गरी ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको छ । आगामी साउनदेखि सञ्चालन तयारी भइरहेको ब्लु बसका लागि नयाँ गाडी ल्याउने नभई हाल चलिरहेका साझा यातायातलाई नै रङ लगाएर ब्लु बसमा परिर्णत गरिने भएको हो ।
‘सरकारले सञ्चालनमा ल्याउने भनेको ब्लु बस नयाँ गाडी ल्याएर नभई हाल चलिरहेकै साझाका गाडीलाई रुपान्तरण गरेर बनाउने हो,’ साझाका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले क्लिकमान्डुसँग भने, ‘यसका लागि सरकार र साझाबीच सैद्धान्तिक सहमति भइसकेको छ । तर, अझै केही प्रक्रियाहरु भने बाँकी छन् ।’
उनले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउनका लागि आवश्यक खर्च पनि सरकारले नै बेहोर्नेगरी सम्झौता भएको जानकारी दिए । ‘सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा राखेअनुसार साउनबाट ब्लु बस सञ्चालनमा ल्याउने तयारीअनुरुप काम भइरहेको छ,’ अर्यालले भने, ‘यसको तत्कालीन खर्च पनि सरकारले बेहोर्नेगरी नै सम्झौता भएको छ ।’
उनका अनुसार गाडीको रुट र सञ्चालन गर्न लाग्ने अनुमानित खर्चको विवरण सरकारलाई बुझाउने काम भइसकेको छ । अब अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर आएपछि र आवश्यक अन्य तयारी पुरा गरेपछि ब्लु बस सञ्चालनमा ल्याउने अन्तिम सम्झौता हुनेछ । सो लगत्तै सडकमा ब्लु बस सञ्चालनमा आउनेछ ।
सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । जसअनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र आठ वटा ‘ब्लु बस’ संचालन गर्ने तयारी भएको हो । यद्यपि, गाडीमा रङ लगाउने लगायतका कामहरु समेत बाँकी रहेको अर्यालले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन तथा सेवा प्रवाह सुधारलाई केन्द्रमा राख्ने भन्दै २०८२ चैत १३ गते ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ सार्वजनिक गरेको थियो । जसमा महिला सुरक्षा, जलन उपचार र सुरक्षित सार्वजनिक यातायातलाई प्राथमिकतामा राखिएको थियो । सरकारले एक सय दिनभित्र पहिलो चरणमा कम्तीमा २५ वटा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याउने लक्ष्य राखेको थियो ।
पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र आठ वटा ‘ब्लु बस’ संचालन गर्ने योजनाअनुरुप सुरुमा नागढुंगा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गर्ने, अर्को रुट लगनखेल–बुढानीलकण्ठ तथा रिङरोड क्षेत्रमा थप बस सञ्चालनमा आउनेछ । साथै, बाँकी बसको पनि रुट व्यवस्थापन हुँदै जानेछ ।






प्रतिक्रिया