राष्ट्रिय सहमतिको सरकार आवश्यक: रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् ।

‘हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ’, उनले भने ‘अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।’

प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको बताए ।

संविधान निर्माणपछि केही समूहहरु अस्थिरताका लागि काम गर्दै आएको भन्दै उनले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताए ।

संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै आफूले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा जानुपर्ने भन्दै आएको उनको भनाइ छ ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको तर त्यसोभन्दा ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनको भनाइ छ ।


क्लिकमान्डु