उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न अर्थमन्त्रीलाई परिसंघको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न आग्रह गरेको छ । मंगलबार भएको भेटमा परिसंघले यस्तो आग्रह गरेको हो ।

भेटमा परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए ।

उद्योगी व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गरे ।

उनले उद्योगी व्यवसायीको घटेको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म ब्याजदर घटाउने र चालु पूँजी कर्जा निर्देशिका पुराना ग्राहकहरुका लागि २ वर्षसम्म स्थगित गर्न सके तत्काल सकारात्मक सन्देश संचार गराउने र उद्योगी व्यवसायीलाई उत्साहि बनाउने बताए ।

यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका ६ वटा औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे ।

उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा अर्थमन्त्री समक्ष पेश गरे ।

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले परिसंघले दिएको ठोस सुझाव कार्यान्वयन गर्न सकिने बताए । उनले अर्थतन्त्र उकास्न परिसंघसँग सहकार्य गर्ने बताए ।


क्लिकमान्डु