अर्थमन्त्रीलाई अध्यक्ष गोल्छाले भने: निजी क्षेत्र आन्दोलनको मुडमा छ, अहिलेको समस्या समाधान नभए ठूलो समस्या आउँछ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायी आन्दोलनको मुडमा रहेको बताएका छन् ।

महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउँदै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै तरलता सहज बनाउने गरि काम गर्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी छलफलमा गोल्छाले ब्याजदरमा स्थायित्व नहुँदा उद्योगी व्यवसायी मर्कामा परेको बताए ।

छलफलमा सहभागी महासंघका प्रतिनिधिहरूले चालूपुँजी कर्जा सम्बन्धि मार्गदर्शन २ वर्ष स्थगित हुनु पर्ने माग गरे । यस्तै तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिए ।

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिए ।

अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरे ।

महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको बताए ।

छलफलमा मन्त्रालयका अर्थ सचीव कृष्णहरी पुष्कर, राजस्व सचीव राजेश्वर दंगाल, महासंघका उपाध्यक्षहरू, पुर्व अध्यक्ष सहभागी थिए।


क्लिकमान्डु