व्यवसायीसँग प्रधानमन्त्री प्रचण्डले भने- बृहत् छलफल गरेर अर्थतन्त्र सुधार गर्छु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकार गंभीर भएको बताएका छन् ।

मंगलबार बिहान खुमलटारस्थित निजी निवासमा भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो पहिलो मन्त्रिपरिषदको बैठकले अर्थतन्त्र सुधारका लागि कदम चाल्ने निर्णय गरिसकेको उल्लेख गर्दै अर्थतन्त्रप्रति सरकार गंभीर भएको उनले बताएका थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।

‘देशको अवस्था निकै गम्भीर छ, हामी सबै मिलेर समाधान गर्नुपर्छ,’ प्रचण्डलको भनाइ उदृत गर्दै भेटमा सहभागी एक व्यवसायीले क्लिकमाण्डूसँग भने, ‘अहिलेको देशको अर्थतन्त्रको विषयमा म निकै सम्बेदनशील छु । तपाईंहरुका पीर मर्का बुझेर काम गर्छौं । पहिलो बैठकबाटै त्यसको शुरुवात भएको छ ।’

व्यवसायीका पीर मर्काका बारेमा आफू जानकार रहेको बताउँदै सरोकारवालाहरुसाग बृहत छलफल गरेर समस्या समाधान गर्ने प्रचण्डले विश्वास दिलाए ।

‘हामी तपाईंहरुसहित सरोकारवालाहरुसाग बृहत छलफल गरेर समस्या समाधान गर्छौं,’ उनले भने ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको अवगत गराएको थियो ।

बिहान ८ बजे महासंघको टोली बधाई दिन खुमलटारस्थित प्रचण्ड निवास पुगेको थियो । प्रतिनिधि मण्डलमा अध्यक्ष गोल्छासहित बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष अञ्जन श्रेष्ठ र महानिर्देशक गोकर्ण अवस्थी सहभागी थिए । प्रचण्डले अत्यन्तै छोटो बोलेका थिए ।

निजी क्षेत्रबाट यस्तै सुझावको अपेक्षा गरेको थिएँ

प्रधानमन्त्री प्रचण्डसाग नेपाल उद्योग परिसंघको टोलीले पनि मंगलबार भेट गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो ।

परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको हो । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गरे ।

परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए ।

“मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद,” उनले भने । प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए ।

“मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं” उनले भने ।

भेटघाटमा परिसंघका पुर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।


क्लिकमान्डु