सरकार गठनमा रवि लामिछाने सक्रिय



काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले उपलब्ध गराएको समय सकिँनै लाग्दा दलहरुले छलफललाई तिब्रता दिएका छन् ।

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकार गठनका लागि सक्रिय बनेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सरकार गठनका बारेमा छलफल गर्न स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरु पुगेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठनको प्रयास भइरहेको छ ।

शक्ति बाँडफाँटका लागि आइतबार बिहान बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका दलहरुबीच भागबण्डा नमिल्दा कांग्रेस नेतृत्वको गठबन्धन संकटमा परेको हो भने, दोस्रो ठूलो दल नेकपा एमालले सरकार गठनका लागि दलहरुसँग छलफल गरिरहेको छ ।

बालुवाटारबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन् ।

प्रतिनिधि सभामा सरकार गठनकालागि १३७ सिट आवश्यक पर्छ । कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा ८९ सिट पाएको छ । त्यस्तै एमाले (७८), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१४) सिट रहेको छ । कांग्रेस बाहेकका यी दल मिल्दा १४४ सिट पुग्छ ।

त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए १६६ सिट पुग्नेछ । कांग्रेसलाई बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पाँच दलको गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेर सरकार निर्माणको प्रयास थालेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् ।


क्लिकमान्डु