साढे २ खर्ब बढी सहुलियतपूर्ण कर्जा स्वीकृत, सरकारले दियो १९ अर्ब ८१ करोड ब्याज अनुदान



काठमाडौं । कात्तिक मसान्तसम्म सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा १९ अर्ब ८१ करोड २३ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार कात्तिक मसान्तसम्म २ खर्ब ५९ अर्ब ९ करोड ५० लाख ३३ हजार रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह हुँदा उक्त रकम ब्याज अनुदानमा खर्च भएको हो ।

कात्तिक मसान्तसम्म विभिन्न ५७ बैंक तथा वित्तीय संस्थाले १० शीर्षकमा १ लाख ४८ हजार ४३३ ऋणीको उक्त रकम बराबरको कर्जा स्वीकृत गरेका हुन् ।

राष्ट्र बैंककाअनुसार कात्तिक मसान्तसम्म २ खर्ब १० अर्ब १२ करोड ४८ लाख ८ रुपैयाँको कर्जा स्वीकृत गर्न बाँकी छ । स्वीकृत भएको कर्जामध्ये सबैभन्दा बढी ‘क’ वर्गका वाणिज्य बैंकको २ खर्ब २६ अर्ब ३७ करोड ८६ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

वाणिज्य बैंकहरुबाट स्वीकृत हुन बाँकी कर्जा १ खर्ब ८३ अर्ब ४५ करोड ५८ लाख ३४ हजार रुपैयाँ रहेको छ । यस्तै विकास बैंकहरुबाट २९ अर्ब १७ करोड ७५ लाख ४४ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ भने स्वीकृत हुन बाँकी कर्जा २३ अर्ब ५८ करोड ६७ लाख ११ हजार रुपैयाँ रहेको छ ।

फाइनान्स कम्पनीबाट कात्तिक मसान्तसम्म ३ अर्ब ४३ करोड ८४ लाख ४३ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ भने ३ अर्ब ८८ लाख ७६ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।

यस्तै ‘घ’ वर्गका माइक्रोफाइनान्स कम्पनीले १० करोड ३ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत गरेर ७ करोड ३३ लाख ८६ हजार रुपैयाँ कर्जा स्वीकृत गर्न बाँकी रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले हाल व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायीक शिक्षा, भूकम्प पीडितहरुको निजी आवास निर्माण, कपडा उद्योग सञ्चालन, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवा वर्ग स्वरोजगार कर्जा दिएका छन् ।

कात्तिक मसान्तसम्म १ लाख ४८ हजार ४३३ ऋणीले सहुलियतपूर्ण कर्जा लिएकोमा ‘क’ वर्गका वाणिज्य बैंकबाट १ लाख २६ हजार ९०७, ‘ख’ वर्गका विकास बैंकबाट १९ हजार ४१२ ‘ग’ वर्गका फाइनान्स कम्पनीबाट २ हजार १३ जना र ‘घ’ वर्गका वित्त कम्पनीबाट १०१ जनाले ऋण लिएका छन् ।

कात्तिक मसान्तसम्म सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा १ खर्ब ६४ अर्ब १४ करोड ५७ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । यस्तो कर्जा लिन चाहनेको संख्या ६० हजार ४६१ ऋणी रहेका छन् । जसमा धितोसहितको कर्जा १ खर्ब ६० अर्ब ९३ करोड १७ लाख ९३ हजार रुपैयाँ र विना धितो ३ अर्ब २१ करोड ३९ लाख ७ हजार रुपैयाँ रहेको छ ।

राष्ट्र बैंककाअनुसार १ खर्ब ३८ अर्ब ६८ करोड ८४ लाख ९७ हजार रुपैयाँ स्वीकृत गर्न बाँकी रहेको छ । जसमा धितो सहितको कर्जा १ खर्ब ३६ अर्ब ४५ करोड २३ लाख ७ हजार र विना धितो २ अर्ब २३ करोड ६१ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै शिक्षित युवा स्वरोजगार कर्जा ८ करोड ५ लाख १२ हजार रुपैयाँ बराबरको स्वीकृत भएको छ । १५९ ऋणीको उक्त कर्जा स्वीकृत भएको हो । ४ करोड ९५ लाख २८ हजार रुपैयाँको कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

कात्तिक मसान्तसम्म ७५ करोड ९२ लाख ५१ हजार रुपैयाँ विदेशबाट फर्केका युवाका लागि परियोजना कर्जा स्वीकृत भएको छ । ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै महिला उद्यमशील कर्जा शीर्षकमा ८९ अर्ब ५१ करोड ३३ लाख ४६ हजार रुपैयाँ स्वीकृत भएको छ भने स्वीकृत हुन बाँकी कर्जा ५१ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

दलित समुदाय व्यवसाय विकास कर्जा ७५ करोड ४४ लाख ७६ हजार रुपैयाँ स्वीकृत भएको छ भने ५३ करोड ७६ लाख १५ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

राष्ट्र बैंकका अनुसार ४ करोड ६९ लाख ५ हजार रुपैयाँ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा स्वीकृत भएको छ भने ३ करोड ४४ लाख ५९ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।

भूकम्प पीडितहरुको निजी आवास निर्माण गर्नका लागि ५ करोड ७६ लाख ६२ हजार रुपैयाँ कर्जा स्वीकृत हुँदा २ करोड ७२ लाख ६३ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक मसान्तसम्म कपडा उद्योग सञ्चालनका लागि ३ अर्ब ७२ करोड ९२ लाख ८२ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ भने २ अर्ब २० करोड १८ लाख २७ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमका लागि ४ लाख रुपैयाँ कर्जा स्वीकृत हुँदा २ लाख ४१ हजार स्वीकृत हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै युवावर्ग स्वरोजगार कर्जाका लागि ७५ लाख रुपैयाँ स्वीकृत हुँदा ५८ लाख ३२ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।


क्लिकमान्डु