आयकरमा २० प्रतिशत गिरावटले आन्तरिक राजस्व विभाग दबावमा, पुसमा अवस्था झनै खराब हुने



काठमाडौं । आन्तरिक राजस्व विभागलाई गत वर्ष बराबर पनि राजस्व संकलन गर्न कठिन बन्दै गएको छ । चालु आर्थिक वर्षको ५ महिनामा विभागले लक्ष्यभन्दा १४ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

मंसिर मसान्तसम्म १ खर्ब ७४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको विभागले १ खर्ब ५० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जबकी गत वर्षको मंसिर मसान्तसम्म विभागले १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागले मंसिर मसान्तसम्म गत वर्षभन्दा ४ प्रतिशत कम राजस्व संकलन गरेको छ । विभागले आयकर र मूल्य अभिवृद्धी कर (मुअकर) गत वर्ष बराबर पनि संकलन गर्न नसक्दा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो ।

मंसिर मसान्तसम्म ५७ अर्ब ६६ करोड रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य लिएको विभागले ४६ अर्ब ४८ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जबकी गर्त वर्ष नै विभागले ५६ अर्ब ९६ करोड रुपैयाँ आयकर संकलन गरेको थियो ।

त्यसैगरी मंसिर मसान्तसम्म ५० अर्ब ९७ करोड रुपैयाँ मुअकर उठाउने लक्ष्य लिएको विभागले ४२ अर्ब ३ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

जबकी गत वर्ष नै विभागले ४४ अर्ब ५३ करोड रुपैयाँ मुअकर संकलन गरेको थियो ।

विभागले अन्तःशुल्क गत वर्षभन्दा ७ प्रतिशत बढी संकलन गरे पनि लक्ष्यभन्दा ३ प्रतिशत कम संकलन गर्दा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो ।

मंसिर मसान्तसम्म ४३ अर्ब ६४ करोड रुपैयाँ अन्तःशुल्क उठाउने लक्ष्य लिएको विभागले ४२ अर्ब ४५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । विभागले गत वर्ष मंसिरसम्म ३९ अर्ब ७४ करोड रुपैयाँ अन्तःशुल्क संकलन गरेको थियो ।

समग्रमा विभागको राजस्व लक्ष्य १४ प्रतिशत मात्रै पछाडि भए पनि मंसिरमा भने विभागले लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

विभागले मंसिरमा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

मंसिरमा अन्तःशुल्क लक्ष्यको ६०.३८ प्रतिशत, मुअकर ८३.६७ प्रतिशत, आयकर ९३.३१ प्रतिशत संकलन भएको छ । जसले गर्दा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो ।

विभागले चालु आर्थिक वर्षको साउनदेखि लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेका छ ।

कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा विभागले २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो । त्यसैगरी असोजमा २९ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २७ अर्ब ९३ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

भदौमा पनि विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन ।

भदौमा ३१ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ११ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

साउनमा विभागले ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न विभागले गत आर्थिक वर्षमा संकलन गरेभन्दा ३० प्रतिशत बढी रकम संकलन गर्नु पर्छ ।

यो वर्ष बैंक वित्तीय संस्थाको नाफा घट्ने, आर्थिक गतिविधी खुम्चिदै जाने देखिएकाले विभागलाई लक्ष्यअनुसार राजस्व संकलन कठिन हुने अर्थ मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका एक अधिकारी पुसमा आयकर बुझाउन कठिन हुने बताउँछन् ।

‘बैंकको ब्याज बुझाउन नसकेको अवस्थामा सरकारलाई कसरी कर तिर्ने थाहा छैन,’एक उद्योगी भन्छन्,‘पुसमा आयकरको किस्ता हाल्न सकिने अवस्था छैन । हामीले अहिले नै कर कार्यालयलाई जानकारी दिइसकेका छौं ।’

पुसमा विभागले आयकरको पहिलो किस्ता बापत ४० प्रतिशत रकम संकलन गर्ने गर्छ । गत वर्ष करिब ३५ अर्ब रुपैया आयकर तिरेका बैंक तथा वित्तीय संस्थाको आम्दानीमा गिरावट हुने सम्भावना देखिएकाले पुसमा विभागलाई लक्ष्यअनुसार राजस्व उठाउन कठिन हुने देखिन्छ ।


क्लिकमान्डु