मंसिर मसान्तसम्म बैंकहरुले लिए पौने २७ खर्ब बढी एसएलएफ सुविधा




काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर मसान्तसम्म २६ खर्ब ८२ अर्ब ७० करोड १३ लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् ।

राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि मंसिर २९ गतेसम्म उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा बैंकहरुले केन्द्रीय बैंकबाट यस्तो सुविधा लिने गरेका छन् ।

१ हजार ५९८ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । मंसिर २९ गते बैंकहरुले १२ करोड ९६ लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।

चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरुले कात्तिक ६ गते सबैभन्दा बढी ८७ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ लिएका छन् ।

यस्तै कात्तिक १४ गते ७५ अर्ब १६ करोड ७४ लाख रुपैयाँ, असोज १४ गते ७१ अर्ब ४ करोड ७० लाख रुपैयाँ, भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका थिए । यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएका छन् ।

बैंकहरुले नगद व्यवस्थापन गर्न नसकेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ ।

यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ । बढी ब्याज पर्ने भएकाले सामान्य अवस्थामा बैंकहरुले एसएलएफ सुविधा लिँदैनन् । तरलताको चरम अभाव भएपछि बैंकहरुको अन्तिम विकल्प एसएलएफ सुविधा हुने गरेको छ ।


क्लिकमान्डु